काठमाडौँ । पूर्वमन्त्री तथा पूर्वसांसद हितबहादुर तामाङले अविरल वर्षाका कारण नुवाकोटका विभिन्न स्थानीय तहमा भएको बाढीपहिरोको क्षतिप्रति तत्काल उद्धार तथा राहतको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् ।
उनले शुक्रबार सामाजिक सञ्जालमार्फत नुवाकोटको पूर्वी क्षेत्रका शिवपुरी, पञ्चकन्या, तादी र दुप्चेश्वर गाउँपालिकाका विभिन्न वडामा बाढीपहिरोका कारण सडक, पुल, कृषियोग्य खेतबारी, घरगोठ तथा पशुचौपायामा व्यापक क्षति भएको जनाएका हुन् ।
तामाङले अवरुद्ध सडक तत्काल खुलाउन तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि सम्बन्धित स्थानीय तह, प्रदेश र संघीय सरकारले तत्काल पहल गर्नुपर्ने बताएका छन् । ‘अविरल वर्षाका कारण भएको क्षतिमा तत्काल उद्धार एवम् राहतको व्यवस्था गर्न, अवरुद्ध सडक तत्काल खुलाउन र पुनर्निर्माण कार्यमा पहल लिन सम्बन्धित पालिका, प्रदेश र संघीय सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु,’ उनले भनेका छन् ।
हाल बढी वर्षात् हुने समय भएकाले उच्च सतर्कता अपनाउन उनले आम नागरिकलाई आग्रह गरेका छन् । सम्भावित विपत्ति र क्षतिको सामना गर्न सुरक्षा निकाय, जिल्लास्थित सडक तथा पूर्वाधार कार्यालय र सम्बन्धित अन्य निकायलाई पनि तयारी अवस्थामा रहन उनले अपिल गरेका छन् ।






