नुवाकोट । अविरल वर्षापछि आएको बाढीपहिरोका कारण नुवाकोटको पूर्वी भेगमा ठूलो क्षति पुगेको भन्दै पञ्चकन्या गाउँपालिकाले राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग गर्न अपिल गरेको छ ।
गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले शनिबार जारी गरेको अपिलमा भाद्र ४ र ५ गते परेको भीषण वर्षाका कारण गाउँपालिकासहित जिल्लाको पूर्वी भेगमा बाढीपहिरोले ठूलो क्षति पुर्याएको उल्लेख छ । सडक पूर्वाधारमा क्षति पुग्दा सदरमुकाम र राजधानीसँगको सम्बन्धसमेत टुट्न पुगेको गाउँपालिकाले जनाएको छ ।
बाढीपहिरोका कारण किसानले उत्पादन गरेका दूध तथा तरकारी बजारसम्म पुर्याउन कठिनाइ भएको, बालबालिकालाई विद्यालय जान समस्या भएको तथा तीन दर्जनभन्दा बढी नागरिकका घर र खेतीयोग्य जमिनमा ठूलो क्षति पुगेको अपिलमा उल्लेख छ ।
विपद्का कारण विस्थापित परिवारलाई अस्पताल, विद्यालय, सामुदायिक भवन र समुदायमा तत्कालका लागि आवश्यक गाँस तथा बासको व्यवस्था गर्न कठिनाइ भइरहेको गाउँपालिकाले जनाएको छ । खानेपानीका मुहानमा क्षति पुगेकाले सुरक्षित खानेपानीको व्यवस्थापनमा समेत समस्या उत्पन्न भएको उल्लेख छ ।
त्यस्तै, केही ठाउँमा पहिरोका कारण सडक अवरुद्ध हुनुका साथै खेतीयोग्य जमिनमा रहेका खेत तथा संरचनामा क्षति पुगेको गाउँपालिकाले जनाएको छ । विपद्का कारण स्वास्थ्य सेवा प्रवाहमा समेत कठिनाइ उत्पन्न भएको अपिलमा उल्लेख छ ।
गाउँपालिकाले विपद्को समयमा तत्काल नागरिकलाई सुरक्षित स्थानमा सार्न, जिउधनको सुरक्षा गर्न तथा राहत र उद्धारमा सहयोग गर्न आग्रह गरेको छ । गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय, जिल्ला विपद् व्यवस्थापन समिति, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था र राजनीतिक दललगायत सम्बन्धित निकायसँग सहयोगका लागि आग्रह गरेको छ ।
यस्तै, विपद्को घडीमा निरन्तर सम्पर्कमा रही उद्धार तथा राहतका लागि खटिन गाउँपालिकाका प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित सुरक्षा निकायलगायतलाई अध्यक्ष तामाङले धन्यवाद दिएका छन् ।







