काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा हेमराज शर्माले विश्वभर छरिएर रहेका नेपालीको सीप, ज्ञान, अनुभव र पूँजीलाई नेपालको विकाससँग जोड्ने अभियानलाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभएको छ।
उहाँले एनआरएनए केवल विदेशमा बस्ने नेपालीको संस्था मात्र नभई विश्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई एकीकृत गर्दै नेपालको आर्थिक, सामाजिक तथा लगानी विकासमा योगदान पुर्याउने साझा मञ्चका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
अध्यक्ष डा शर्माले एनआरएनएको वर्तमान नेतृत्वले संस्थागत सुधार, विदेशमा रहेका नेपालीका समस्या समाधान, लगानी प्रवर्द्धन तथा दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई नेपालसँग जोड्ने विषयमा विशेष ध्यान दिने बताउनुभयो ।
उहाँका अनुसार विश्वका करिब ११० देशमा गैरआवासीय नेपालीहरूको सञ्जाल विस्तार भइसकेको छ। विभिन्न देशमा रहेका नेपालीको अनुभव, व्यावसायिक क्षमता र आर्थिक स्रोतलाई नेपालको उत्पादन, उद्यमशीलता तथा विकास निर्माणसँग जोड्न सकिए देशले ठूलो लाभ लिन सक्ने उहाँको भनाइ थियो।
“विदेशमा बसेका नेपालीसँग केवल पैसा मात्र छैन, उनीहरूसँग सीप, प्रविधि, व्यवस्थापन क्षमता, अन्तर्राष्ट्रिय अनुभव र व्यापक सम्पर्क पनि छ,” उहाँले बताउनुभयो, “अब यी सबै क्षमतालाई नेपालमा कसरी उपयोग गर्ने भन्ने विषयमा व्यावहारिक ढंगले काम गर्नुपर्छ।”
उहाँले गैरआवासीय नेपालीले नेपालमा लगानी गर्न चाहँदा अझै पनि विभिन्न कानुनी, प्रशासनिक तथा प्रक्रियागत जटिलता सामना गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो। लगानीको वातावरणलाई सरल, सुरक्षित र विश्वसनीय बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो।
अध्यक्षले एनआरएनएले विदेशमा रहेका नेपाली व्यवसायीलाई एकआपसमा जोड्दै नेपालमा लगानीका सम्भावित क्षेत्र पहिचान गर्ने कामलाई पनि अघि बढाउने जानकारी दिनुभयो। कृषि, पर्यटन, सूचना प्रविधि, ऊर्जा, पूर्वाधार, उत्पादनमूलक उद्योग र नवीन व्यवसायका क्षेत्रमा गैरआवासीय नेपालीको लगानी आकर्षित गर्न सकिने उहाँले बताउनुभयो।
उहाँले विदेशमा बस्ने नेपालीका व्यक्तिगत तथा पारिवारिक समस्या समाधानमा पनि संघले ध्यान दिनुपर्ने बताउनुभयो। “विदेशमा रहेका नेपालीले विभिन्न समस्या भोगिरहेका हुन्छन्। उनीहरूको सम्पत्ति, लगानी, पारिवारिक व्यवस्थापन तथा अन्य अधिकारसँग सम्बन्धित विषयमा सहयोग र समन्वय आवश्यक छ,” उहाँले उल्लेख गर्नुभयो।
नेपालमा फर्किएर व्यवसाय गर्न चाहने गैरआवासीय नेपालीलाई उचित वातावरण र सहजीकरण उपलब्ध गराउनुपर्नेमा उहाँले जोड दिनुभयो। विदेशमा आर्जन गरेको अनुभव र पूँजी नेपालमा प्रयोग गर्ने वातावरण बनेमा रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो।
अध्यक्षले दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई नेपालसँग भावनात्मक र व्यावहारिक रूपमा जोड्नु अर्को महत्वपूर्ण चुनौती रहेको बताउनुभयो। विदेशमै जन्मिएका वा हुर्किएका नेपाली मूलका नयाँ पुस्तालाई नेपालको भाषा, संस्कृति, इतिहास, पर्यटन र आर्थिक सम्भावनाबारे जानकारी गराउन विशेष कार्यक्रम आवश्यक रहेको उहाँले बताउनुभयो।
उहाँले दोस्रो पुस्तालाई नेपाल भ्रमण, युवा सम्मेलन, सांस्कृतिक कार्यक्रम तथा उद्यमशीलता र लगानीसँग सम्बन्धित गतिविधिमार्फत नेपालसँग जोड्न सकिने धारणा राख्नुभयो।
“भोलिको विश्वव्यापी नेपाली समुदायको नेतृत्व दोस्रो पुस्ताले नै गर्नेछ,” उहाँले बताउनुभयो, “त्यसैले उनीहरूलाई नेपालसँग जोड्ने दीर्घकालीन कार्यक्रम आवश्यक छ।”
अध्यक्षले एनआरएनएको अभियानलाई केवल औपचारिक कार्यक्रम र सम्मेलनमा सीमित नराखी परिणाममुखी बनाउनुपर्ने बताउनुभयो। विदेशमा रहेका नेपालीका समस्या समाधान, लगानी भित्र्याउने, ज्ञान र प्रविधि हस्तान्तरण गर्ने तथा नेपालसँग विश्वव्यापी नेपाली समुदायको सम्बन्ध बलियो बनाउने विषयलाई प्राथमिकतामा राखिने उहाँले जानकारी दिनुभयो।
उहाँले विश्वभर रहेका नेपाली व्यवसायी, पेशाकर्मी, विज्ञ तथा युवा पुस्ताबीच बलियो सञ्जाल निर्माण गरेर नयाँ अवसर सिर्जना गर्न सकिने धारणा राख्नुभयो।
“हामीसँग विश्वभर फैलिएको ठूलो नेपाली सञ्जाल छ। अब त्यो सञ्जाललाई नेपालको विकास र समृद्धिसँग कसरी प्रभावकारी रूपमा जोड्ने भन्ने विषयमा केन्द्रित हुनुपर्छ,” अध्यक्षले बताउनुभयो।
उहाँले गैरआवासीय नेपालीलाई नेपालको विकास प्रक्रियाको महत्वपूर्ण साझेदारका रूपमा हेर्नुपर्ने र सरकारले समेत लगानी तथा नीतिगत सहजीकरणमा सकारात्मक भूमिका खेल्नुपर्ने बताउनुभयो।
एनआरएनएको नयाँ नेतृत्वले संस्थालाई थप व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउँदै विश्वभरका नेपालीलाई एउटै साझा उद्देश्यमा जोड्ने लक्ष्य लिएको पनि उहाँले जानकारी दिनुभयो। सो अवसरमा उपाध्यक्ष रोजिना प्रधान राईले एनआरएनए डेभलपमेन्ट फन्डका विषयमा धारणा राख्दै गैरआवासीय नेपालीको पूँजीलाई नेपालको विकास र समृद्धिसँग जोड्न फन्डले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उपाध्यक्ष लोक दाहाल दिनेश पोखरेल, उपाध्यक्ष रबिन बज्राचार्य लगायतले विश्व बजारमा नेपाली उत्पादनको प्रवर्द्धन तथा विस्तारका लागि नेपाल चेम्बर र एनआरएनएबीचको सहकार्य महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो।






