लन्डन । बेलायतमा चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शनबारे प्रेस मिट सम्पन्न भएको छ ।
आइतबार २३ अगस्टमा तमु धीं यूकेको भवनमा ‘पेन्सन पट्टा’ चलचित्रको प्रेस मिट सफलतापूर्वक सम्पन्न भएको हो । कार्यक्रममा उपस्थित भई साथ, सहयोग र समाचार सम्प्रेषण गरिदिने सम्पूर्ण सञ्चारकर्मी तथा मिडियाकर्मीहरूलाई तमु धीं यूकेका संस्थापक अध्यक्ष मिन गुरुङले हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।
कार्यक्रममा एस के गुरुङले मिडियाकर्मीको भूमिका निर्वाह गर्दै कार्यक्रमलाई सफल बनाउन महत्त्वपूर्ण सहयोग गरेका थिए । त्यसैगरी, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, उपाध्यक्ष कमल गुरुङलगायत सम्पूर्ण उपस्थित महानुभावहरू, आमा समूहका प्रमुख तथा सम्पूर्ण दिदीबहिनीहरूलाई पनि उनले धन्यवाद दिए ।
सम्पूर्ण बेलायतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई ‘पेन्सन पट्टा’ चलचित्रलाई माया, साथ र सहयोग गरिदिन अनुरोध गर्दै केही टिकटहरू अझै उपलब्ध रहेकाले समयमै सम्पर्क गरी टिकट सुरक्षित गरिदिन उनले अनुरोध गरे । चलचित्र १२ सेप्टेम्बर दिउँसो ठीक २:३० बजे अल्डरसटमा प्रदर्शन हुँदैछ । त्यस्तै १९ मा प्लमस्टिड र २७ सेप्टेम्बरमा ननीटनमा प्रदर्शन हुनेछ । साथै, चलचित्रको लाइसेन्ससम्बन्धी व्यवस्थाका कारण १८ वर्षभन्दा कम उमेरका नानीहरूलाई कार्यक्रममा नल्याइदिन अनुरोध गर्दै गुरुङले यसबाट पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी भनेका छन् ।
चलचित्र ‘पेन्सन पट्टा’ का लेखक तथा निर्देशक माउत्से गुरुङ हुन् । उक्त चलचित्रमा कलाकार दयाहाङ राई, पञ्चशुब्बा गुरुङ, सोल गुरुङ, मनिका गुरुङ, प्रोडक्सन म्यानेजर डीबी गुरुङ तथा नृत्य निर्देशक कमल गुरुङ छन् ।










