बेलायत – नेपाली मेला २०२६ का प्रमुख संयोजक तथा तमु धीं युकेका उपाध्यक्ष कमल गुरुङले नेपाली मेलाको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएका छन्।
उक्त जानकारी तथा नेपाली मेला २०२६ को प्रचारप्रसारका लागि आइतबार, २३ अगस्ट २०२६ का दिन बेलायतमा आयोजित पत्रकार सम्मेलनमा दिइएको हो। पत्रकार सम्मेलनमा युरोप, बेलायत र नेपालबाट सञ्चालित सञ्चारगृहका झन्डै दुई दर्जन पत्रकारहरूको उपस्थिति रहेको थियो भने कार्यक्रम बेलायतस्थित तमु धीं युकेको आफ्नै भवनमा सम्पन्न भएको छ।
पत्रकार सम्मेलनको पहिलो चरणमा तमु धीं युकेका मिडिया सेक्रेटरी सर्बिन्द्र कुमार (एसके) गुरुङले उपस्थित पत्रकारहरूलाई परिचय गराएका थिए भने अध्यक्ष जुमकाजी गुरुङ, आमा समूहकी अध्यक्ष कमलादेवी गुरुङ, वरिष्ठ उपाध्यक्ष परशुराम गुरुङ र संयोजक तथा उपाध्यक्ष कमल गुरुङले खादा र नेपाली मेलाको प्रवेशपत्र प्रदान गरेर स्वागत गरेका थिए।
पत्रकारहरूलाई स्वागत गरेपछि प्रमुख संयोजक तथा उपाध्यक्ष कमल गुरुङले नेपाली मेलाको तयारीबारे पावरप्वइन्ट प्रिजेन्टेसन गरेका छन्। यस वर्षको मेलामा गत वर्षको भन्दा बढी दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको छ। नेपाली मेला २०२६ “हाम्रो संस्कृति, हाम्रो गौरव, हाम्रो पहिचान” भन्ने मूल नाराका साथ लन्डनको किप्टन पार्कमा आगामी आइतबार ३० अगस्ट २०२६ का दिन बिहान १०:०० बजेदेखि बेलुकी ८:०० बजेसम्म सञ्चालन हुनेछ।
हरेक वर्ष तमु धीं युकेले नेपाली राजदूतावास बेलायतसँग सहकार्य गर्दै यो मेला आयोजना गर्दै आएको छ। १७ औं संस्करणको रूपमा हुन गइरहेको यो मेला बेलायतवासी नेपालीहरूका बीच तथा देश-विदेशमा अत्यधिक लोकप्रिय कार्यक्रमको रूपमा परिचित भइसकेको छ।
तमु धीं युकेका अध्यक्ष जुमकाजी गुरुङले यस वर्षको मेला विगतका वर्षहरूमा भन्दा पृथक हुने बताएका छन्। मेलामा बेलायतमा स्थापित विभिन्न समुदाय र जातजातिको आफ्नै मौलिक संस्कार, संस्कृति, रीतिरिवाज र पहिचान झल्किने झाँकी र नृत्यहरू प्रस्तुत गरिनेछन्। प्रमुख संयोजक कमल गुरुङले उपस्थित पत्रकारमार्फत बेलायतमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सपरिवार उपस्थित भई मेलालाई सभ्य र भव्य बनाइदिनुहुन अनुरोध गरेका छन्।
यस वर्ष सांस्कृतिक झाँतीतर्फ ४२ टिम र सांस्कृतिक कार्यक्रमतर्फ १० टिमले भाग लिनेछन्। साथै, अपाङ्गता भएका व्यक्तिको सवारीसाधनलाई पार्किङ निशुल्क र ७५ वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकलाई प्रवेश शुल्क निःशुल्क गरिएको छ। प्रवेश शुल्क प्रतिव्यक्ति र प्रति कारको लागि ५ पाउन्ड तथा बसको लागि १० पाउन्ड राखिएको छ।
मेलाको मुख्य आकर्षणहरूमा सांस्कृतिक झाँकी, सांस्कृतिक कार्यक्रम, राफल ड्र, खानपिन, च्यारिटी, आपतकालीन सेवा, खुद्रा पसल, आइसक्रिम, भाँडावर्तन, लत्ताकपडा, जनचेतनालगायत ५३ भन्दा बढी विभिन्न व्यावसायिक स्टलहरू रहने स्टल संयोजक तथा उपाध्यक्ष दिल माया गुरुङले जानकारी दिएका छन्।
प्रतियोगिता पुरस्कारहरूको व्यवस्थाअनुसार एम्बासडर कपको प्रथम स्थानका लागि १५०० पाउन्ड, दोस्रो स्थानका लागि ७०० पाउन्ड, तेस्रो स्थानका लागि ५०० पाउन्डका साथै प्रमाणपत्र र मेडल प्रदान गरिनेछ भने एनआरएनए कपको विजयीलाई ८०० पाउन्ड राखिएको छ।
झाँकी प्रथम स्थानको लागि ६०० पाउन्ड, दोस्रो स्थानको लागि ४०० पाउन्ड, तेस्रो स्थानको लागि ३०० पाउन्ड र तीनवटा सान्त्वना पुरस्कारका लागि जनही २०० पाउन्डका साथै प्रमाणपत्र र मेडलको व्यवस्था गरिएको छ।
नृत्यतर्फ प्रथम स्थानको लागि ६०० पाउन्ड, दोस्रो स्थानको लागि ४०० पाउन्ड, तेस्रो स्थानको लागि ३०० पाउन्ड र तीनवटा सान्त्वना पुरस्कारका लागि जनही २०० पाउन्डका साथै प्रमाणपत्र र मेडलको व्यवस्था गरिएको छ।
नेपाली मेलाको प्रमुख अतिथिमा बेलायतका लागि कार्यवाहक नेपाली राजदूत महामहिम विपिन दुवाडी रहनुहुनेछ। विशेष अतिथिहरूमा विभिन्न देशका राजदूतहरू, कूटनीतिक आयोगका अधिकारीहरू, मेयर, काउन्सिलरहरू र एनआरएन आइसिसीका अध्यक्ष रहनेछन् भने अन्य अतिथिहरूमा एनआरएन युकेका अध्यक्षलगायत बेलायतमा स्थापित संस्थाका अध्यक्ष, प्रतिनिधिहरू र पत्रकारहरूलाई आमन्त्रण गरिएको छ।
पत्रकारहरूले राखेको जिज्ञासा तथा प्रश्नहरूको जवाफ एवं सहजीकरण प्रमुख संयोजक तथा उपाध्यक्ष कमल गुरुङ, अध्यक्ष जुमकाजी गुरुङ र महासचिव डा. विशाल गुरुङले गरेका थिए भने प्रश्नोत्तर कार्यक्रम मिडिया संयोजक एसके गुरुङले सञ्चालन गरेका थिए।
कार्यक्रममा तमु धीं युकेका संस्थापक अध्यक्ष मिन तमु, पूर्वअध्यक्षहरू रामचन्द्र गुरुङ (सुर्जे) ज्ञाम गुरुङ, आमा समूहकी अध्यक्ष कमला गुरुङ, संस्थापक अध्यक्ष पुनम गुरुङ, पुर्वअध्यक्ष पवित्र गुरुङ, पदाधिकारीहरू, कार्यसमितिका सदस्यहरू, संरक्षकहरू, सल्लाहकारहरू, शाखा समितिका अध्यक्षहरुलगायतको उपस्थिति रहेको थियो। साथै, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष विमला सेने, संस्थापक अध्यक्ष नवीन पोखरेल, पूर्वअध्यक्ष ध्रुव अर्याल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष बम सूर्यवंशी थापामगर लगायत युरोप, नेपाल र बेलायतमा स्थापित सञ्चारगृहका पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो।
सो अवसरमा तमु धीं युकेले बेलायत आएका, संस्थागत तथा व्यक्तिगत योगदान पुर्याएका र समाजमा उदाहरणीय कार्य गरेका व्यक्तिहरूलाई फेटा, खादा र मायाको चिनो प्रदान गरी सम्मान गरेको थियो। सम्मानित हुनेहरूमा तमु धीं युकेका पूर्वअध्यक्ष रामचन्द्र गुरुङ (सुर्जे), आमा समूहकी पूर्वअध्यक्ष पवित्र गुरुङ, संस्थापक अध्यक्ष पुनम गुरुङ, बिसीसि युकेका निवर्तमान अध्यक्ष हर्क गुरुङ, श्रीमती जगन्ना गुरुङ, काउन्सिलर उत्तर गुरुङ, हङकङबाट बेलायत आएका समाजसेवी विजय गुरुङ, नेपालबाट बेलायत आएका पत्रकार तथा व्यवसायी अमृत गुरुङ, चलचित्र निर्देशक दीप गुरुङ, कौरा महाराज दुर्गा गुरुङ, लोकप्रिय तथा चर्चित नायिका रजनी गुरुङ र लक्ष्मी गुरुङ रहेका थिए।
कार्यक्रमको अन्त्यमा अध्यक्ष जुमकाजी गुरुङले उपस्थित पत्रकारहरूलाई जिम्मेवारीसाथ नेपाली मेलाको प्रचारप्रसार गरिदिन आग्रह गरेका छन्। तमु धीं युकेका अध्यक्ष जुमकाजी गुरुङले अध्यक्षता गरेको सो कार्यक्रममा महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेका थिए र वरिष्ठ उपाध्यक्ष परशुराम गुरुङले स्वागत मन्तव्य दिएका थिए।







