काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपाल रेडक्रस सोसाइटी (एनआरसीएस) र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी महासंघ (आईएफआरसी)बीच मानवीय सहायता, जनस्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा सहकार्य गर्ने समझदारी (एमओयू) भएको छ। तीन संस्थाबीचको सहकार्यले नेपालमा विपद् तथा अन्य मानवीय संकटका समयमा गैरआवासीय नेपाली समुदायको स्रोत, ज्ञान र सहयोगलाई परिचालन गर्ने आधार तयार गर्नेछ।

एनआरएनएका तर्फबाट अध्यक्ष डा हेमराज शर्मा र नेपाल रेडक्रस सोसाइटी (एनआरसीएस)अध्यक्ष डा बिशालकुमार भण्डारी र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी महासंघ (आईएफआरसी)का तर्फबाट हेड अफ डेलिगेसन डेभिड फिसरले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो । समझदारीअनुसार नेपालमा विपद् तथा अन्य संकटका समयमा नेपाल रेडक्रसको मानवीय सहायता तथा जनस्वास्थ्य सेवाका लागि गैरआवासीय नेपालीहरूमाझ कोष संकलनमा सहकार्य गरिनेछ। साथै, विदेशमा रहेका गैरआवासीय नेपाली र नेपालमा रहेका उनीहरूका परिवारबीच पारिवारिक सम्बन्ध कायम राख्न तथा आवश्यक सहयोग पुर्याउन पनि सहकार्य गरिनेछ। समझदारीले नेपालबाहिर रहेका एनआरएनएका राष्ट्रिय परिषद् र सम्बन्धित देशका राष्ट्रिय रेडक्रस वा रेडक्रिसेन्ट सोसाइटीबीच सम्पर्क तथा सहकार्य विस्तार गर्ने व्यवस्था गरेको छ। यसअन्तर्गत सम्बन्धित देशमा रहेका नेपालीहरूको मानवीय आवश्यकतालाई सम्बोधन गर्नुका साथै उनीहरूको हित तथा कल्याणका लागि पैरवी गर्ने अवसर खोजिनेछ।
समझदारीले एनआरएनएको विश्वव्यापी सञ्जाल र रेडक्रसको मानवीय सञ्जाललाई जोड्दै नेपालमा विपद् तथा जनस्वास्थ्य संकटको समयमा थप प्रभावकारी रूपमा स्रोत, स्वयंसेवक र सहयोग परिचालन गर्ने आधार तयार गरेको छ। सम्झौताअनुसार एनआरएनएले आफ्ना राष्ट्रिय परिषद्मार्फत सदस्यहरूलाई सहकार्यका क्षेत्रबारे जानकारी गराउने, विदेशमा रहेका नेपालीहरूको मानवीय आवश्यकतासम्बन्धी सूचना आदानप्रदान गर्ने, संयुक्त कार्यक्रम तथा जनसम्पर्क गतिविधिमा सहयोग गर्ने र सम्बन्धित कार्यक्रमहरूमा रेडक्रस तथा आईएफआरसीलाई आमन्त्रण गर्नेछ।त्यस्तै, नेपाल रेडक्रस र आईएफआरसीले नेपालमा विपद्को प्रभाव तथा जनस्वास्थ्य आवश्यकताबारे जानकारी आदानप्रदान गर्ने, सम्बन्धित देशका राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीसँग समन्वय गरी सहकार्यको वातावरण बनाउने तथा एनआरएनएसँग संयुक्त कार्यक्रम सञ्चालन गर्नेछन्। समझदारी ३० जुन २०३१ सम्म कायम रहनेछ। यसअन्तर्गत सञ्चालन हुने विशिष्ट परियोजना तथा कार्यक्रमहरू भने सम्बन्धित पक्षबीच छुट्टाछुट्टै सहमतिका आधारमा कार्यान्वयन गरिनेछ। सहकार्यको प्रगति तथा आगामी कार्यक्रमको समीक्षा गर्न तीनवटै पक्षले प्रत्येक वर्ष बैठक गर्ने व्यवस्था समेत गरिएको छ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) तर्फबाट अध्यक्ष डा. हेमराज शर्मा, उपाध्यक्षहरू रोजिना प्रधान राई, दिनेश पोखरेल, महासचिव डा. चिरञ्जीवी खड्का, महिला सचिव अमृता थापा, सचिव दिपेश खत्री, प्रमुख संरक्षक डा बद्री केसी सल्लाहकार यास्मिन सइद बेगम लगायतको सहभागिता रहेको थियो।
एनआरएनए र रेडक्रसबीचको सहकार्य नेपालमा मात्र सीमित नरहने : एनआरएनए अध्यक्ष शर्मा
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्माले एनआरएनए र रेडक्रसबीचको सहकार्य नेपालमा मात्र सीमित नरहने बताउनुभएको छ। समझदारीपत्र (एमओयू) हस्ताक्षर समारोहमा बोल्दै उहाँले दुवै संस्थाबीच धेरै समानता रहेकाले सहकार्यका प्रशस्त सम्भावना रहेको बताउनुभयो।
उहाँले मानवीय सहायता तथा परोपकार एनआरएनएको तीन प्रमुख क्षेत्र मध्ये एक रहेको उल्लेख गर्दै अन्य दुई क्षेत्रका रूपमा लगानी प्रवर्द्धन र गैरआवासीय नेपालीहरूको कल्याण रहेको बताउनुभयो। करिब दुई महिनाअघि भएको छलफलपछि आज एमओयू हस्ताक्षर गर्ने अवस्थामा आइपुगेको उल्लेख गर्दै उहाँले एमओयू हस्ताक्षर सहकार्यको अन्त्य नभई यात्राको सुरुवात मात्र भएको बताउनुभयो।
एनआरएनएले नेपाल रेडक्रससँग नेपालमा मात्र नभई विदेशमा समेत सहकार्य गर्दै आएको उदाहरण प्रस्तुत गर्दै उहाँले कोभिड–१९ महामारीका समयमा कतारमा एनआरएनए एनसीसी कतार र कतार रेडक्रसबीच सहकार्य भएको बताउनुभयो। विपद्का समयमा समुदायसम्म पुग्ने, मानवीय सहायता परिचालन गर्ने तथा आवश्यक सहयोग उपलब्ध गराउने विषयमा एनआरएनएसँग अनुभव र ज्ञान रहेको उहाँले बताउनुभयो।

एनआरएनए र रेडक्रसको सहकार्यमा हालसम्म पाँचवटा ब्लड बस परियोजना सञ्चालनमा रहेको उल्लेख गर्दै उहाँले थप दुईवटा ब्लड बस विस्तार गर्ने योजना रहेको बताउनुभयो। हालसम्म यी परियोजनाहरू एमओयूविनै सञ्चालन भएको भए पनि अब औपचारिक समझदारीपछि अझ प्रभावकारी रूपमा काम गर्न सकिने उहाँले विश्वास व्यक्त गर्नुभयो।
उहाँले सहकार्यलाई नेपालमा मात्र सीमित नगरी मध्यपूर्व तथा मलेसियालगायत नेपाली श्रमिकको ठूलो उपस्थिति रहेका मुलुकहरूमा समेत विस्तार गर्न सकिने बताउनुभयो। विदेशमा रहेका नेपालीहरूको दोस्रो पुस्तालाई नेपालसँग जोड्ने एनआरएनएको योजनामा समेत रेडक्रससँग सहकार्य गर्न सकिने उहाँले उल्लेख गर्नुभयो।
एनआरएनएको दोस्रो पुस्तालाई नेपालमा स्वयंसेवी कार्यक्रममार्फत जोड्ने उद्देश्यले आगामी जनवरीमा दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई नेपालमा आमन्त्रण गरी करिब एक साताको स्वयंसेवी कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनुभयो। उक्त कार्यक्रममा रेडक्रसले समेत विभिन्न गतिविधिमार्फत सहकार्य गर्न सक्ने उहाँको भनाइ थियो।
विदेशमा बसोबास गर्ने दोस्रो पुस्ताका नेपालीलाई उनीहरूकै बसोबास रहेको देशमा रेडक्रसको स्वयंसेवी अभियानसँग जोड्न सकिने सम्भावना पनि उहाँले औँल्याउनुभयो। नेपालमा विद्यालय तहदेखि नै रेडक्रसबारे जानकारी र स्वयंसेवी गतिविधिमा सहभागिताको अभ्यास हुने गरेको स्मरण गर्दै उहाँले विदेशमा हुर्किरहेका नेपाली बालबालिकालाई समेत रेडक्रसको स्वयंसेवी अभियानमा जोडेर नेपालसँगको सम्बन्धलाई थप बलियो बनाउन सकिने बताउनुभयो। यसैगरी, आगामी मनसुनका लागि कोष संकलन अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले यसलाई प्रारम्भिक तथा पाइलट परियोजनाका रूपमा अघि बढाउने बताउनुभयो। पहिलो चरणमा अपेक्षाअनुसार ठूलो रकम संकलन नभए पनि परियोजना सफल भए आगामी वर्ष यसलाई थप विस्तार गर्न सकिने उहाँले बताउनुभयो। एनआरएनएले कोष संकलनका लागि वेबसाइटसमेत तयार गरिरहेको र चाँडै सार्वजनिक गर्ने जानकारी उहाँले दिनुभयो।उहाँले यस समझदारीले तीन संस्थाबीचको सहकार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो।
एनआरएनएको सहकार्य हाम्रो लागि महत्वपूर्ण अवसर हो : हेड अफ डेलिगेशन डेभिड फिसर (आईएफआरसी)
अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको महासंघ (आईएफआरसी) का प्रतिनिधिले नेपालमा विपद् जोखिम व्यवस्थापन, जनस्वास्थ्य तथा युवा सहभागिताका क्षेत्रमा गैरआवासीय नेपाली संघ (एनआरएनए) र रेडक्रसबीच सहकार्य गर्ने महत्वपूर्ण अवसर रहेको बताउनुभयो।
सम्झौता हस्ताक्षर समारोहमा बोल्दै उहाँले नेपालमा विपद् तथा जनस्वास्थ्य संकटका समयमा सहकार्य गर्नुका साथै विदेशमा रहेका नेपाली समुदायलाई समेत मानवीय सेवासँग जोड्न सकिने बताउनुभयो। विश्वका विभिन्न देशमा नेपाली समुदाय रहेकाले ती देशमा रहेका रेडक्रस तथा रेडक्रिसेन्ट संस्थासँग नेपाली समुदायको सहकार्यका लागि ठूलो सम्भावना रहेको उहाँले बताउनुभयो।
विदेशमा रहेका नेपालीहरूले आफू बसोबास गरिरहेको समुदायमा महत्वपूर्ण योगदान पुर्याइरहेको उल्लेख गर्दै उहाँले नेपाललाई सहयोग गर्नुका साथै आफू बसेका देशका समुदायमा समेत मानवीय तथा सामाजिक सेवामा योगदान दिन सक्ने बताउनुभयो।
विभिन्न चरणका छलफलपछि विपद् जोखिम व्यवस्थापन, जनस्वास्थ्य र युवा सहभागितालाई सहकार्यका प्रमुख क्षेत्रका रूपमा अघि बढाउने गरी समझदारी भएको उहाँले बताउनुभयो। एनआरएनएका सदस्य तथा विभिन्न देशमा रहेका नेपाली समुदायलाई रेडक्रस तथा रेडक्रिसेन्टका मानवीय गतिविधिसँग जोड्दै स्वयंसेवकका रूपमा सहभागी गराउन सकिने अवसर रहेको पनि उहाँले बताउनुभयो। नेपाल रेडक्रस र एनआरएनएबीच मात्र नभई विश्वभर रहेका सम्बन्धित संस्थाहरूबीच समेत सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिँदै उहाँले यस सहकार्यबाट बलियो, स्वस्थ र सुरक्षित नेपाल निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
ज्येष्ठ नागरिक, आप्रवासी तथा मानवीय सेवामा एनआरएनए–रेडक्रस सहकार्य विस्तार गर्नुपर्नेमा जोड
नेपाल रेडक्रस सोसाइटी (एनआरसीएस)अध्यक्ष डा बिशाल कुमार भण्डारीले गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल रेडक्रस सोसाइटीबीचको सहकार्यलाई ज्येष्ठ नागरिकको हेरचाह, आप्रवासी श्रमिकको सहयोग तथा मानवीय सेवाका क्षेत्रमा समेत विस्तार गर्नुपर्नेमा जोड दिइएको छ।
सम्झौता हस्ताक्षर समारोहमा बोल्दै उहाँले हेल्दी एजिङ (स्वस्थ बुढ्यौली) कार्यक्रमलाई समेत सहकार्यको महत्वपूर्ण क्षेत्रका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो। विदेशमा छोराछोरी र नेपालमा आमा–बुवा बस्ने परिवारको संख्या बढ्दै गएकाले धेरै ज्येष्ठ नागरिक एक्लै बस्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले उनीहरूको हेरचाह र सहयोगका लागि केही योगदान गर्नुपर्ने अवस्था आएको बताउनुभयो।

उहाँले एनआरएनएको संरचना देशका सातै प्रदेश र ७७ जिल्लासम्म रहेको तथा विभिन्न तहमा सक्रिय स्वयंसेवकहरू रहेकाले यस संरचनामार्फत समुदायसम्म पुगेर प्रभावकारी रूपमा काम गर्न सकिने बताउनुभयो। रेडक्रसको व्यवस्थित संरचना र स्वयंसेवकको सञ्जाललाई समेत उपयोग गर्दै मानवीय सेवाका कार्यक्रमलाई थप प्रभावकारी बनाउन सकिने उहाँको भनाइ थियो।
त्यसैगरी, विदेशमा रहेका नेपाली आप्रवासीलाई सहयोग गर्न सम्बन्धित देशका रेडक्रस तथा रेडक्रिसेन्ट संस्थासँग एनआरएनएको सहजीकरणमा संयुक्त कार्यक्रम सञ्चालन गर्न सकिने उहाँले बताउनुभयो। मलेसियामा मलेसियन रेडक्रससँग भएको छलफलको उदाहरण दिँदै उहाँले आप्रवासीलाई सहयोग र व्यवस्थापन गर्न नेपाललाई सहयोग गर्ने प्रतिबद्धता मलेसियन रेडक्रसका अध्यक्षबाट प्राप्त भएको जानकारी दिनुभयो।
विभिन्न देशमा रहेका रेडक्रस तथा रेडक्रिसेन्ट संस्थासँग एनआरएनएले समन्वय गरी नेपाली समुदायलाई आवश्यक सहयोग उपलब्ध गराउने संयुक्त कार्यक्रम विकास गर्न सकिने उहाँले बताउनुभयो। यसबाट विदेशमा रहेका धेरै नेपालीलाई मानवीय सहायता तथा आवश्यक सेवामा जोड्न सकिने उहाँको विश्वास थियो।
उहाँले एनआरएनए र नेपाल रेडक्रसबीचको सहकार्यलाई यस अवस्थासम्म ल्याउन योगदान पुर्याउने आईएफआरसीका डेभिड फिसरसहित आईएफआरसीको टोली तथा नेपाल रेडक्रस र एनआरएनएको सम्पूर्ण टोलीलाई धन्यवाद व्यक्त गर्नुभयो। साथै, आगामी दिनमा यो सहकार्यलाई थप प्रभावकारी र व्यापक बनाउँदै नेपाली समुदायको हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो।






