शिवकुमार गुरुङ
अल्डरसट । बेलायतमा बसोबास गर्दै आएका आर्थर डाँडाखर्कवासीहरूको साझा संस्था श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज यूकेको वार्षिक भेला भव्य रुपमा सम्पन्न भएको छ ।
अल्डरसटस्थित अल्डरवुड लेजर सेन्टरको सभाहलमा २२ अगस्ट २०२६ मा समाजको सातौँ कार्यसमितिका अध्यक्ष धिरज गुरुङको अध्यक्षतामा विविध कार्यक्रमसहित वार्षिक भेला भव्यतापूर्वक सम्पन्न भएको हो । प्रमुख अतिथि तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, विशिष्ट अतिथि तमु समाज यूकेकी अध्यक्ष बिन्दु कुमारी गुरुङ घले, नेपालबाट आएका धर्मगुरु खेन्पो दशरथ गुरुङ लामा तथा समाजका ज्येष्ठ सदस्य बमबहादुर गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरी समारोहको उद्घाटन गरेका थिए । त्यसपछि नेपाल र बेलायतका राष्ट्रिय गानहरू बजाइएको थियो ।




समाजका पूर्वमहासचिव राजेश गुरुङ र युवा सदस्य निकी गुरुङले संयुक्त रूपमा सञ्चालन गरेको कार्यक्रममा सर्वप्रथम स्वास्थ्य तथा सुरक्षासम्बन्धी आवश्यक जानकारी प्रस्तुत गरिएको थियो । गत वार्षिक भेलायता नेपाल तथा बेलायतमा दिवंगत भएका समाजका सदस्यहरूका साथै पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका विश्वप्रसिद्ध पर्वतारोही तथा एमबीई सम्मानप्राप्त निर्मल पुर्जा ‘निम्सदाइ’लगायत सम्पूर्ण पर्वतारोहीहरूको स्मृतिमा एक मिनेट मौनधारण गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
स्वागत तथा युवापुस्ताको सन्देश
समाजका उपाध्यक्ष कमल गुरुङले स्वागत मन्तव्य दिँदै वार्षिक भेलाको औचित्य, उद्देश्य र समाजका गतिविधिबारे प्रकाश पारेका थिए । उनले प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिगण, ज्येष्ठ सदस्य, चेलीबेटी–ज्वाइँ, युवा तथा बालबालिकासहित सम्पूर्ण सदस्यहरूलाई हार्दिक स्वागत गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । उनले कार्यक्रममा सहभागी भई भरपूर मनोरञ्जन लिन तथा वार्षिक भेलाको दिनलाई अविस्मरणीय बनाउन सबैलाई आग्रह गरे।
युवाहरूका तर्फबाट शुभकामना मन्तव्य राख्दै युवा प्रतिनिधि दिपसन गुरुङले कार्यक्रम सफल बनाउन खटिएका सम्पूर्ण आयोजक, स्वयंसेवक र सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे । उनले अग्रजहरूको त्याग, समर्पण र मार्गदर्शनबाट नै आजको बलियो समुदाय निर्माण भएको उल्लेख गर्दै अग्रजहरूले बसालेको जगलाई अझ सुदृढ बनाएर अगाडि बढाउने जिम्मेवारी अब युवापुस्ताको काँधमा आएको बताए । युवाहरू उत्सव र मनोरञ्जनमा मात्र सीमित नभई स्वयंसेवा, नवीन सोच र नेतृत्वका साथ अघि बढेर अग्रजहरूलाई सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

अग्रजहरूको अनुभव र ज्ञानबाट सिक्दै समाजमा नयाँ ऊर्जा थप्न आह्वान गर्दै उनले आफ्नो भाषा, संस्कार र संस्कृतिको संरक्षण गर्न, अग्रजहरूको सम्मान गर्न तथा एउटै ठूलो परिवारका रूपमा एकताबद्ध भएर अगाडि बढ्न सम्पूर्ण युवालाई आग्रह गरे ।
भाषा, संस्कार र संस्कृति संरक्षणमा जोड
प्रमुख अतिथि तथा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले आफू र आफ्नी धर्मपत्नी तथा तमु धीं यूके आमा समूहकी अध्यक्ष कमला देवी गुरुङलाई कार्यक्रममा आमन्त्रण गरी प्रदान गरिएको आतिथ्य, स्वागत र सम्मानप्रति कृतज्ञता व्यक्त गरे । उनले संसारको जुनसुकै स्थानमा बसे पनि आफ्नो भाषा, संस्कार र संस्कृति बिर्सन नहुने बताउँदै युवापुस्तालाई यससम्बन्धी ज्ञान र चेतना प्रदान गरिरहनु अत्यन्त आवश्यक रहेको उल्लेख गरे। युवाहरूका लागि कार्यक्रम आयोजना गर्नु मात्र पर्याप्त नहुने भन्दै उनीहरूलाई स्वस्फूर्त रूपमा सहभागी हुन सक्ने वातावरण परिवार र समाजले निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

नेपाल भ्रमणका क्रममा आर्थर डाँडाखर्क गाउँ पुग्ने अवसर प्राप्त भएको स्मरण गर्दै उनले त्यहाँको शताब्दीऔँ पुरानो ऐतिहासिक बौद्ध गुम्बाको दर्शन तथा अवलोकन गर्न पाएको, स्थानीयवासीबाट आत्मीय स्वागत र सद्भाव प्राप्त गरेको तथा समाजले विभिन्न क्षेत्रमा पुर्याएको सहयोगबाट आफू प्रभावित भएको बताए । उनले तमु धीं यूकेद्वारा आयोजना गरिने नेपाली मेला–२०२६ मा श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज यूकेका सम्पूर्ण सदस्यहरूलाई उत्साहपूर्वक सहभागिता जनाउन आह्वानसमेत गरे ।
विशिष्ट अतिथि तथा तमु समाज यूकेकी अध्यक्ष बिन्दु कुमारी गुरुङ घलेले श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज यूकेको कार्यक्रममा पहिलो पटक अतिथिका रूपमा सहभागी भए पनि आत्मीय आतिथ्य, स्वागत र सम्मानका साथै धेरै आफन्तजनसँग भेटघाट गर्ने अवसर पाउँदा पारिवारिक मिलनको अनुभूति भएको बताए । उनले आफू र आफ्ना श्रीमान्लाई आमन्त्रण गरिएकोमा समाजप्रति कृतज्ञता व्यक्त गरे ।

श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज यूकेले स्थापनाकालदेखि नेपाल र बेलायतमा सञ्चालन गर्दै आएका परोपकारी एवं सामाजिक कार्यहरूको प्रशंसा गर्दै उनले भाषा, संस्कार र संस्कृति संरक्षणमा समाजले पुर्याएको योगदान उल्लेखनीय रहेको बताए ।
कार्यक्रम सञ्चालनदेखि विभिन्न व्यवस्थापकीय भूमिकासम्म युवापुस्ताले देखाएको सहभागिता, सहयोग, सद्भाव र अग्रसरताबाट आफू अत्यन्त प्रभावित भएको उल्लेख गर्दै उनले यस्तो सहभागिता अन्य सामाजिक संस्थाहरूका लागि समेत अनुकरणीय रहेको धारणा राखे । उनले युवाहरूको सक्रियतालाई निरन्तरता दिन आग्रह गर्दै कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गरे ।

शुभकामना मन्तव्यकै क्रममा समाजका पूर्वअध्यक्ष तथा तमु समाज यूकेका पूर्वअध्यक्ष शिवसरण गुरुङले समाजको स्थापनाकालदेखि हालसम्मका गतिविधि र उपलब्धिबारे चर्चा गरे । उनले नेपालस्थित आर्थर डाँडाखर्क गाउँको विद्यालय, स्वास्थ्यचौकी, ऐतिहासिक बौद्ध गुम्बा, श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज पोखरा तथा अन्य क्षेत्रमा समाजले विभिन्न समयमा प्रदान गरेका सहयोगबारे जानकारी गराए । उनले समाजले विगतदेखि वर्तमानसम्म गरेका सामाजिक तथा परोपकारी कार्यहरूलाई समेटेर तयार पारेको कविता काव्यात्मक शैलीमा वाचन गरी सुनाएका थिए ।

कार्यक्रमका अवसरमा श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज पोखरा तथा श्री साङ ङाग धोर्जे छ्योलिङ गुम्बा, डाँडाखर्क, पर्वतका अध्यक्ष सब–इन्स्पेक्टर कमल गुरुङले संयुक्त शुभकामना पत्र पठाएका थिए । पत्रमा वार्षिक भेलाको सफलताको कामना गर्दै समाजले विगत १६ वर्षदेखि सामाजिक, सांस्कृतिक तथा मानवीय क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गरिएको थियो।
साथै, यस्ता कार्यक्रमले आपसी सद्भाव, सामाजिक एकता, पारिवारिक सम्बन्ध तथा मौलिक भाषा, संस्कार र संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास शुभकामना पत्रमा व्यक्त गरिएको थियो।


सम्मान तथा स्वागत
वार्षिक भेलाका अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने तथा उत्कृष्ट उपलब्धि हासिल गर्ने सदस्यहरूलाई सम्मान गरिएको थियो। समाजमा आबद्ध नवप्रवेशी सदस्यहरू प्रदीप गुरुङ, मिना गुरुङ, लक्षु गुरुङ, आस्था गुरुङ, सुनिल गुरुङ, मौसमी गुरुङ र चन्द्र बहादुर गुरुङलाई स्वागत गर्नुका साथै सैनिक सेवामा पदोन्नति प्राप्त सदस्यलाई बधाई तथा सम्मान प्रदान गरिएको थियो।

यसैगरी, समाजका कार्यक्रमहरूमा प्रायोजन तथा आर्थिक एवं भौतिक सहयोग गर्ने सदस्य र चेलीबेटी–ज्वाइँहरूलाई पनि सम्मान गरिएको थियो। समाजका अध्यक्ष धिरज गुरुङले उनीहरूलाई खादा लगाई मायाको चिनो प्रदान गरेका थिए ।
यस वर्ष ब्रिटिस आर्मीमा कर्पोरलबाट सार्जेन्ट पदमा पदोन्नति भएका समाजका सदस्य सार्जन कुमार गुरुङ र उनकी धर्मपत्नी सखी गुरुङलाई अध्यक्ष धिरज गुरुङले खादा ओढाई सम्मान गरे । उनले सार्जन कुमार गुरुङलाई हार्दिक बधाई दिँदै थप प्रगति, सफल सैनिक जीवन तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे ।

युवा तथा बालबालिकालाई मौलिक गुरुङ भेषभूषाप्रति आकर्षित गर्दै परम्परागत सांस्कृतिक पोसाक लगाउन प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रममा उत्कृष्ट गुरुङ भेषभूषा प्रतियोगितासमेत आयोजना गरिएको थियो। प्रतियोगितामा बालकतर्फ लिओ गुरुङ र बालिकातर्फ सिरा गुरुङ श्रेष्ठ उत्कृष्ट घोषित भएका थिए । विजेता दुवैलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो।

सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम
वार्षिक भेलामा विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएका थिए। स्थानीय कलाकारहरू शर्मिला गुरुङ, सरिता गुरुङ, युवारानी गुरुङ, साया गुरुङ, सायारा गुरुङ, बनिसा गुरुङ, शिव गुरुङ र निकी गुरुङले आ–आफ्ना आकर्षक प्रस्तुति दिएका थिए ।
डीजे निल गुरुङले प्रस्तुत गरेको साङ्गीतिक कार्यक्रममा सहभागीहरूले उत्साहपूर्वक नाचगान गर्दै भरपूर मनोरञ्जन लिएका थिए । कार्यक्रम सञ्चालक निकी गुरुङ र पूर्वसचिव राजेश गुरुङको संयोजनमा नगद पुरस्कारसहितको राफल ड्र समेत आयोजना गरिएको थियो ।
सहयोगी तथा प्रायोजकप्रति आभार
कार्यक्रमको अन्त्यतिर समाजका अध्यक्ष धिरज गुरुङले वार्षिक भेला सफल बनाउन आर्थिक, भौतिक तथा व्यवस्थापकीय सहयोग प्रदान गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति हार्दिक आभार व्यक्त गरे ।
कार्यक्रमका आर्थिक सहयोगदाताहरू धनप्रसाद गुरुङ, चिजकुमारी गुरुङ, कृपा गुरुङ, विकास गुरुङ, तमु समाज यूकेकी अध्यक्ष बिन्दुकुमारी गुरुङ घले, समाजका पूर्वअध्यक्ष तथा तमु समाज यूकेका पूर्वअध्यक्ष शिवशरण गुरुङ, समाजका अध्यक्ष धिरज गुरुङ, उपाध्यक्ष कमल गुरुङ, एकमाया गुरुङ, सार्जन कुमार गुरुङ, समाजका ज्येष्ठ सदस्य बम बहादुर गुरुङ, पूर्णकुमारी गुरुङ, हेमन्त गुरुङ र यति एन्ड “द” कोइ केटरिङ सर्भिसप्रति विशेष धन्यवाद व्यक्त गरिएको थियो।
कार्यक्रमको संयोजन तथा व्यवस्थापनमा सहयोग पुर्याउने उपाध्यक्ष कमल गुरुङ, पूर्वमहासचिव राजेश गुरुङ, कोषाध्यक्ष कमल गुरुङ, खाद्य संयोजक बुद्धि गुरुङ र सांस्कृतिक संयोजक निकी गुरुङलाई विशेष धन्यवाद दिइएको थियो । त्यसैगरी, मनोरञ्जन, पेयपदार्थ तथा स्वागत कक्ष व्यवस्थापनमा सहयोग पुर्याउनुहुने कोषाध्यक्ष कमल गुरुङ र निवर्तमान अध्यक्ष जंगबहादुर गुरुङप्रति पनि आभार व्यक्त गरिएको थियो।
कार्यक्रमका महत्त्वपूर्ण क्षणहरूलाई तस्बिरमा सुरक्षित गर्नुहुने फोटोग्राफर गौतम गुरुङ, खानाको व्यवस्था गर्ने यति एन्ड ‘द कोइ’ केटरिङ सर्भिस तथा साङ्गीतिक मनोरञ्जन प्रदान गर्ने डीजे निल गुरुङप्रति पनि समाजले धन्यवाद व्यक्त गरेको थियो । खाद्य संयोजक बुद्धि गुरुङको संयोजनमा सहभागीहरूका लागि स्वादिष्ट भोजनको व्यवस्था गरिएको थियो। गर्मी मौसमलाई ध्यानमा राख्दै मिना गुरुङ र ज्याकी गुरुङले आइसक्रिम प्रायोजन गरेका थिए ।
पेयपदार्थको प्रायोजन समाजका संस्थापक अध्यक्ष क्याप्टेन कृष्णप्रसाद गुरुङ र उनकी धर्मपत्नी राधा गुरुङका छोरीहरू ज्योतिका गुरुङ र जेसिका गुरुङ तथा छोरा अमृत गुरुङले आफ्ना दिवंगत हजुरबुबा–हजुरआमाको प्रेमपूर्ण स्मृतिमा गरेका थिए ।
कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सम्पूर्ण अतिथि, इष्टमित्र, सदस्य, पदाधिकारी, चेलीबेटी–ज्वाइँ, कलाकार तथा स्वयंसेवकहरूप्रति समाजका अध्यक्ष धिरज गुरुङले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरे ।
आगामी दिनमा पनि समाजलाई अझ सुदृढ र सक्रिय रूपमा अगाडि बढाउन सम्पूर्ण सदस्यहरूबाट निरन्तर साथ, सहयोग र सद्भाव प्राप्त हुने अपेक्षा व्यक्त गर्दै अध्यक्ष गुरुङले कार्यक्रमको औपचारिक सत्र समापन भएको घोषणा गरे ।
बिहान ११:४५ बजे सुरु भएको वार्षिक भेलाको औपचारिक सत्र समापन भएपछि पनि डीजे निल गुरुङको साङ्गीतिक प्रस्तुतिमा सहभागीहरूले उत्साहपूर्वक नाचगान गर्दै भरपूर मनोरञ्जन लिएका थिए। विविध कार्यक्रम, आत्मीय भेटघाट र उल्लासमय वातावरणबीच वार्षिक भेला बेलुका ८:४५ बजे सफलतापूर्वक सम्पन्न भएको थियो ।









