काठमाडौं । विदेश अध्ययनका लागि जाने नेपाली विद्यार्थीलाई आवश्यक परामर्श, सहजीकरण तथा विदेशमा अभिभावकीय सहयोग उपलब्ध गराउने उद्देश्यले गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल शैक्षिक परामर्श संघ (इक्यान) बीच सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ।
समझदारीअनुसार विदेश जाने तथा विदेशमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा, अधिकार, सम्मान र मानसिक स्वास्थ्य प्रवर्द्धनमा सहकार्य गरिनेछ। साथै, शैक्षिक परामर्श क्षेत्रमा नैतिक, पारदर्शी र व्यावसायिक अभ्यासलाई प्रोत्साहन गर्ने तथा नेपालमा हुने प्रस्थानपूर्व तयारी र गन्तव्य मुलुकमा पुगिसकेपछिको समायोजनबीच समन्वयलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) तर्फबाट अध्यक्ष डा. हेमराज शर्मा, उपाध्यक्षहरू रोजिना प्रधान राई, दिनेश पोखरेल, महासचिव डा. चिरञ्जीवी खड्का, सचिव दिपेश खत्री, सल्लाहकार यास्मिन सइद बेगम लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले विदेश अध्ययनका लागि जाने नेपाली विद्यार्थीले विदेश पुगेपछि काम खोज्ने, बसोबासको व्यवस्था मिलाउने र नयाँ वातावरणमा घुलमिल हुने क्रममा विभिन्न समस्या सामना गरिरहेको बताउनुभयो। यस्ता समस्यालाई विदेश जानुअघि नै आवश्यक जानकारी र तयारीमार्फत न्यूनीकरण गर्न सकिने उहाँको भनाइ थियो।
विद्यार्थी विदेश जानुअघि नै सम्बन्धित देशको शिक्षा प्रणाली, रोजगारीको अवस्था, कानुनी व्यवस्था, बसोबास, स्वास्थ्य तथा मानसिक स्वास्थ्यलगायतका विषयमा आवश्यक जानकारी उपलब्ध गराउनुपर्नेमा डा. शर्माले जोड दिनुभयो। त्यसका लागि एनआरएनएले स्वदेशमै अभिमुखीकरण तथा परामर्श कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो।
“विदेश जाने विद्यार्थीलाई एनआरएनएले स्वदेशमै जानकारी दिने उद्देश्यले अभिमुखीकरण तथा परामर्श कार्यक्रम सुरु गर्नेछ,” डा. शर्माले भन्नुभयो। एनआरएनएको कार्यालयबाटै त्यस्ता कार्यक्रम सञ्चालन गर्ने योजना रहेको पनि उहाँले जानकारी दिनुभयो।

विदेशमा रहेका नेपाली तथा विद्यार्थीलाई एनआरएनएले आवश्यक सहयोग गर्दै आएको उल्लेख गर्दै डा. शर्माले इक्यानसँगको सहकार्यले विद्यार्थीलाई अझ व्यवस्थित र प्रभावकारी रूपमा सहयोग गर्न सकिने बताउनुभयो। एनआरएनएको प्रत्येक राष्ट्रिय समन्वय परिषद् (एनसीसी) मा विद्यार्थीसम्बन्धी कामका लागि विद्यार्थी विङ्स रहेको जानकारी दिँदै उहाँले ती संरचनामार्फत विद्यार्थीका समस्यामा सहयोग गर्ने काम भइरहेको बताउनुभयो।
विदेशमा अध्ययनरत विद्यार्थीको मानसिक स्वास्थ्यलाई समेत प्राथमिकतामा राख्नुपर्नेमा डा. शर्माले जोड दिनुभयो। नयाँ वातावरण, अध्ययनको दबाब, आर्थिक चुनौती, एक्लोपन तथा पारिवारिक दूरीका कारण विद्यार्थीले मानसिक तनाव सामना गर्न सक्ने भएकाले उनीहरूलाई आवश्यक परामर्श र सहयोगको पहुँचमा राख्नुपर्ने उहाँले बताउनुभयो।
विदेश अध्ययनपछि नेपाल फर्किएका युवाले विदेशमा सिकेको ज्ञान, सीप र कमाएको पुँजीलाई स्वदेशको विकासमा उपयोग गर्ने वातावरण निर्माण गर्नुपर्ने विषयमा पनि डा. शर्माले जोड दिनुभयो। विदेशबाट प्राप्त ज्ञान, सीप र पुँजीलाई नेपालमै उपयोग गर्न सक्ने वातावरण बनाउन राज्यले समेत विशेष कार्यक्रम अघि बढाउनुपर्ने धारणा उहाँले राख्नुभयो।
कार्यक्रममा एनआरएनएका उपाध्यक्ष तथा विद्यार्थी सहयोग समितिका संयोजक दिनेश पोखरेलले इक्यान र एनआरएनएबीच विद्यार्थीको हितका विषयमा यसअघि नै छलफल हुँदै आएको बताउनुभयो। इक्यानमा आबद्ध शैक्षिक परामर्श संस्थामार्फत नेपाली विद्यार्थी विदेश अध्ययनका लागि जाने भएकाले उनीहरूको हितमा दुवै संस्थाबीच सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो।
नेपालबाट विदेश जान लागेका विद्यार्थीलाई विदेश जानुअघि आवश्यक परामर्श तथा काउन्सिलिङ उपलब्ध गराउने र विदेश पुगेपछि एनआरएनएले अभिभावकीय भूमिका निर्वाह गर्ने गरी सहकार्य अघि बढाउन सकिने उहाँले बताउनुभयो। “स्वदेशमा इक्यानले र विदेशमा एनआरएनएले सहयोग गर्ने गरी काम गर्न सकिन्छ,” उहाँले भन्नुभयो।
विद्यार्थीलाई विदेश जानुअघि गन्तव्य मुलुक, त्यहाँको अवस्था, सम्भावित चुनौती तथा आवश्यक सावधानीबारे जानकारी दिनुका साथै विदेश पुगेपछि पनि आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्य रहेको उहाँले स्पष्ट पार्नुभयो।
कार्यक्रममा इक्यानका अध्यक्ष लक्ष्मण पौडेल (एन्ड्रु)ले एनआरएनएसँगको सहकार्य विदेश जाने विद्यार्थीले विदेश पुगेपछि समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले महत्वपूर्ण रहेको बताउनुभयो। विद्यार्थीलाई विदेशमा स्थानीय अभिभावकको आवश्यकता पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै एनआरएनएको सञ्जालमार्फत उनीहरूलाई सहयोग पुर्याउन सकिने उहाँले बताउनुभयो।
विद्यार्थीले विदेश जानुअघि आवश्यक जानकारी तथा परामर्श प्राप्त गर्नुका साथै गन्तव्य मुलुकमा पुगेपछि पनि आवश्यक पर्दा सहयोग पाउने वातावरण निर्माण गर्न सहकार्य उपयोगी हुने उहाँले उल्लेख गर्नुभयो। यो सम्झौता दुई संस्थाबीचको सहकार्यको सुरुवात भएको जनाउँदै आगामी दिनमा विद्यार्थी तथा शिक्षा क्षेत्रसँग सम्बन्धित अन्य विषयमा समेत सहकार्य विस्तार गरिने उहाँले बताउनुभयो।
समझदारी अनुसार विदेशमा रहेका नेपाली तथा विद्यार्थीबाट प्राप्त ज्ञान, सीप र पुँजीलाई नेपालको विकाससँग जोड्ने विषयलाई सरकारले प्राथमिकताका साथ अघि बढाउनुपर्ने उहाँले बताउनुभयो। एनआरएनएले अघि सारेका यस्ता कार्यक्रमलाई सरकारी स्तरबाट समेत अपनत्व लिएर अगाडि बढाउन सके त्यसबाट मुलुकले दीर्घकालीन लाभ लिन सक्ने उहाँको भनाइ थियो।
विद्यार्थीलाई आवास, रोजगारी, कानुनी अधिकार, स्वास्थ्य, सुरक्षा तथा आपत्कालीन सहयोगसम्बन्धी विश्वसनीय जानकारी र आवश्यक सन्दर्भ सेवा उपलब्ध गराउन पनि दुवै संस्थाले सहकार्य गर्नेछन्। संयुक्त रूपमा प्रस्थानपूर्व तथा गन्तव्य मुलुक पुगेपछिका अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने, विद्यार्थी सहयोग तथा आपत






