लन्डन । एनआरएनएका उपाध्यक्ष तथा सामाजिक अभियन्ता विश्वासदीप तिगेलाले भूकम्प र हिमताल फुटेर आउने बाढीलाई एउटै प्रकृतिको विपद्का रूपमा हेर्न नहुने बताएका छन् । उनले हिमताल पग्लेर फुट्नु जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमसँग सम्बन्धित रहेकाले यसको क्षति सम्बोधनका लागि अन्तर्राष्ट्रिय संयन्त्रबाट सहयोग ल्याउन सरकारलाई आग्रह गरेका छन्।
उनका अनुसार संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धिअन्तर्गत स्थापित हानि तथा क्षति सम्बोधन कोषलगायत उपलब्ध अन्तर्राष्ट्रिय संयन्त्रमार्फत पीडित समुदायको पुनर्स्थापना, जीविकोपार्जन र जलवायु अनुकूलनका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग प्राप्त गर्न सरकारले तत्काल कूटनीतिक पहल गर्नुपर्छ।
उनले भूकम्पका बेला जस्तै जथाभावी रकम संकलन गर्नुको सट्टा भावनात्मक रूपमा सहयोग गर्न र सम्भव भए श्रमदान गर्न पनि आग्रह गरेका छन्।
२६ अगस्ट २०२६ मा नेपालमा रसुवास्थित भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति पुगेको छ । त्यसपछि नेपाल सरकार र अन्तर्राष्ट्रियस्तरबाट प्रभावितका लागि सहयोग उठाउने क्रम चलिरहेको छ ।






