लन्डन । भोटेकोशी बाढीपीडित र बालआश्रम सहयोगार्थ ‘दुर्गा गुरुङ साङ्गीतिक साँझ’ कार्यक्रम सम्पन्न भएको छ ।
रोधीं डिजिटलको आयोजनामा शुक्रबार भदौ १२ मा दुर्गा गुरुङ साङ्गीतिक साँझ-२०८३’ काठमाडौंको मित्रनगरमा भएको हो । लोकप्रिय गायिका दुर्गा गुरुङको मुख्य प्रस्तुतिको सांगीतिक साँझ भोटेकोशी बाढीका कारण देश नै रोइरहेकोले उद्घाटन सामान्य किसिमले गरिएको थियो । गायिका दुर्गाले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अमर विरही गुरुङले पछ्यौरी ओढार सम्मानपछि आफ्नो प्रस्तुति सुरु गरेको थिइन् । उनले करिब ३ घण्टा चलेको कार्यक्रममा विभिन्न चर्चित र मौलिक ९ वटा गीत र ३ वटा नाचसहितको प्रस्तुति राखेकी थिइन् । उनले ‘स्याङ्जाडाँडा घुम्तीमा पहिरो छ, माया गहिरो छ’, गुरुङ गीत ‘ङिला रोधिरी’, ‘रामरानी ङोल्स्यो’, ‘दाइ त मेरो लाहुरे जाने’लगायत सालैजो, कौडाजस्ता गीत प्रस्तुत गरेकी थिइन् ।
गण्डकी प्रदेशका पूर्वमन्त्री स्याङ्जाका मेखलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अमर विरही गुरुङ, वर्तमान अध्यक्ष रीता थापा मगर, पूर्वअध्यक्ष चन्द्र शर्मालगायत ३ सय हाराहारीमा उपस्थिति थियो । गायिका गुरुङले देश विपत्तिमा परेको बेला सांगीतिक साँझ स्थगित गर्न खोजिए पनि व्यवस्थापन पूरा भइसकेको र पछि समय व्यवस्थापन कठिन हुने देखेर बाढीपीडितलाई नै समर्पण गरेर कार्यक्रम गरिएको प्रस्ट पारिन् । उनले आयोजक संस्था र आफूबीच कार्यक्रमको बचत रकम केही प्रतिशत बाढीपीडितका लागि प्रदान गर्ने सहमति बनिसकेको खुलाइन् ।
उक्त सांगीतिक साँझ तनहुँको भानु नगरपालिका-७मा स्थानीयद्वारा सञ्चालित चण्डिका बालआश्रमको सहयोगार्थ आयोजना गरिने पूर्वनिर्धारित उद्देश्य थियो । गायिका दुर्गाले कार्यक्रम आयोजना, व्यवस्थापनको जिम्मा लिने रोधी डिजिटलका नायक तथा चलचित्र निर्देशक प्रितम गुरुङसहित सबै सम्पूर्ण टिम, कार्यक्रम सफल पार्न प्रायोजन र सहयोग गर्ने व्यक्ति तथा संस्था, उपस्थित र शुभचिन्तक सबैमा हार्दिक आभार प्रकट गरेकी छन् ।
को हुन् गायिका दुर्गा गुरुङ ?
स्याङ्जामा जन्मिएकी गायिका दुर्गा गुरुङ वि.स. २०५३ सालमा रेडियो नेपालमा भ्वइस टेस्ट पास गरेपछि निरन्तर गीतसंगीतमा सक्रिय छिन् । लोक, दोहोरी, सांस्कृतिक गीत गाउनु उनको परिचय हो । उनले रामरानी र पातें (माइली) गुरुङ भाषाको चलचित्रको गीतमा पनि स्वर दिएकी छन् । त्यस्तै ‘देउराली भञ्ज्याङ’ (कौडा), स्याउली पलाएछ’ (लोकगीत), ‘घर कहाँ हो मायालु’, झोरा, सोरठी, ‘तीज आयो माइतीको आँगनमा..’, ‘झलझली सम्झौली आमा’, ‘चेलीको कर्म’, ‘माइतीको माया’, ‘रातो साडी लर्काएर’ लगायत दर्जनौं सिर्जना पस्किसकेकी छन् ।
आजीवन गीतसंगीतमा लागेन अठोट लिएकी गायिका दुर्गा गुरुङले बेलायत, कतार, हङकङ, जापान, यूरोप, अमेरिकामा सांस्कृतिक भ्रमण गरिसकेकी छन् । ३३ वर्षदेखि सांगीतिक कर्ममा रहेकी गायिका गुरुङ सोरठी, घाँटु, झोरा, कौडा, सालैजो, देउडा, तामाङ सेलोलगायत विधाका गीत गाउन रुचि राख्छिन् । गायिका दुर्गाले तीन वर्षअघि एकल साँझसमेत गरेकी थिइन् ।
दुर्गा तमु कलाकार संघ नेपालको गण्डकी प्रदेश समितिको संस्थापक अध्यक्ष हुन् भने अहिले केन्द्रीय महिला सचिवको जिम्मेवारीमा रहेकी छिन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आजीवन सदस्यको रुपमा पनि छन् ।



















