लन्डन । पूर्वउपमेयर तथा काउन्सिलर लक्षबहादुर गुरुङले नेपालमा भूकम्पलगत्तै गोर्खा टोली परिचालन भएको स्मरण गर्दै यसपटक पनि ब्रिटिश गोर्खा सैनिकको विशेषज्ञताको उपयोगका लागि पहल गर्न नेपाली दूतावास लन्डनलाई आग्रह गरेका छन् ।
नेपालमा २६ अगस्टमा आएको भीषण बाढीबाट प्रभावित समुदायलाई राहत तथा पुनर्निर्माणमा सहयोग गर्ने विषयमा बेलायतस्थित नेपाली समुदाय, संघसंस्था तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूसँग नेपाली दूतावास लन्डनले शनिबार साँझ भर्चुअल माध्यमबाट गरेको छलफलमा बोल्दै काउन्सिलर गुरुङले यस्तो सुझाव दिएका हुन् ।
यस्तै काउन्सिलर नीना गुरुङले प्रभावित क्षेत्रमा बालबालिकाको सुरक्षा महत्त्वपूर्ण विषय भएकाले आवश्यक ‘सेफगार्डिङ’ संयन्त्र बनाउनुपर्ने बताइन् । उनले रोयल गोर्खा राइफल्स तथा क्विन्स गोर्खा इन्जिनियर्ससँग समेत समन्वय भै रहेको जानकारी दिइन् ।
नेपाली दूतावासका डिफेन्स एट्याची ब्रिगेडियर जनरल अनुप शाहले नेपाली सेनाले ‘होल अफ द नेसन’ दृष्टिकोणअनुसार उद्धार तथा राहत कार्य अघि बढाइरहेको बताए । उनले बेलायती सेनाको गोर्खा रेजिमेन्टसँग पनि समन्वय भइरहेको जानकारी दिए ।






