लन्डन । नेपालमा भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्न बेलायतस्थित नेपाली राजदूतावास लन्डनले कार्यक्रम आयोजना गर्ने भएको छ।
दूतावासले जारी गरेको सूचनाअनुसार मंगलबार, १ सेप्टेम्बरमा साँझ ६-७ बजेसम्म राजदूतावासमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्न लागिएको हो ।
गत बुधबार, २६ अगस्टमा भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै दूतावासले मृतकप्रति श्रद्धाञ्जली तथा घाइते एवं प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्न कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ।
बाढी प्रभावित नेपालीप्रति ऐक्यबद्धता प्रकट गर्न बेलायतमा रहेका नेपालीलाई कार्यक्रममा उपस्थित हुन दूतावासले अनुरोध गरेको छ। कार्यक्रममा सहभागी हुन इच्छुकले दूतावासले उपलब्ध गराएको लिंकमार्फत आफ्नो नाम दर्ता गराउन सक्ने सूचनामा उल्लेख छ।





