लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि पहिलो चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ हस्तान्तरण गरेको छ।
संघका अध्यक्ष डा. हेमराज शर्मासहितको प्रतिनिधिमण्डलले सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्रीसँग भेट गरी उक्त रकम हस्तान्तरण गरेको हो । गैरआवासीय नेपाली संघका पदाधिकारी तथा अभियन्ताहरू र विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी)बाट संकलित रकममध्ये संघले पहिलो चरणमा १ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरेको हो ।
परराष्ट्रमन्त्री शिशिर खनालले बाढी तथा डुबानबाट भएको ठूलो क्षतिको पुनर्स्थापना र पुनर्निर्माण नेपाल सरकारले मात्र गर्न नसक्ने भएकाले एनआरएनए सहकार्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । विपद्को कठिन घडीमा एनआरएनएले प्रभावित स्थानमै पुगेर प्रत्यक्ष रुपमा गरेको राहत वितरण सहित ५ करोड रुपैयाँ सहयोग गर्ने भनी गरेको प्रतिबद्धताप्रति सरकारका तर्फबाट धन्यवाद दिँदै उनले राहत, पुनर्स्थापना र पुनर्निर्माणका सबै चरणमा एनआरएनएसँग सहकार्य र समन्वय गरिने बताएका हुन् ।
उनले हालको विपद् सामान्य बाढीभन्दा फरक र अत्यन्त ठूलो प्रकृतिको रहेको बताउँदै रसुवा र नुवाकोटका धेरै बस्तीमा ठूलो जनधन तथा भौतिक पूर्वाधारको क्षति भएको उल्लेख गरे ।
संघका अध्यक्ष डा. हेमराज शर्माले हालै आएको विनाशकारी बाढी तथा डुबानका कारण भएको जनधनको क्षतिप्रति संघ मर्माहत भएको बताए । विपद्को यस कठिन घडीमा प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले संघले ५ करोड राहत तथा मानवीय सहयोग गर्ने घोषणा गरेको जानकारी दिँदै उनले संघको टोली रसुवा र नुवाकोटमै पुगेर जिल्ला विपद् व्यवस्थापन समितिलगायत सम्बन्धित निकायसँग समन्वय गरी राहत सामग्री वितरण तथा हस्तान्तरण गरिसकेको बताए ।
उनले पहिलो चरणमा प्रभावित स्थानमै पुगेर सरकारले अघि सारेको एकद्वार प्रणाली अनुसार नै राहत तथा मानवीय सहायता उपलब्ध गराउनुका साथै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पहिलो चरणमा १ करोड रुपैयाँ हस्तान्तरण गरिएको जानकारी दिए । साथै, आगामी दिनमा संघको राहत अभियानमार्फत संकलित सहयोग रकम क्रमशः प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्दै जाने उनले बताए ।
एआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले विपद्को यस कठिन घडीमा विदेशमा रहेका नेपालीहरू नेपालसँगै रहेको बताए । उनले राहत सामग्री, स्वास्थ्य शिविर, औषधि तथा चिकित्सकीय सेवा र पुनर्निर्माणका काममा एनआरएनए प्रत्यक्ष रूपमा सहभागी हुन तयार रहेको उल्लेख गरे । गैरआवासीय नेपाली तथा विदेशी मित्रहरूबाट सहयोग जुटाउन सरकार र एनआरएनएबीच थप प्रभावकारी सहकार्य आवश्यक रहेको बताउँदै विदेशमा रहेका नेपालीलाई विश्वासिलो साझेदारका रूपमा परिचालन गर्न सरकारसँग आग्रह गरे ।
कार्यक्रममा प्रमुख संरक्षक डा बद्री केसी र भिम उदाससहित संघका पदाधिकारी तथा अभियन्ताहरुको उपस्थिति थियो ।






