लन्डन । नेपालमा आएको विनाशकारी बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै तमु समाज यूकेले आगामी १२ सेप्टेम्बरमा आयोजना गर्न लागेको ‘लेडिज नाइट तथा तीज कार्यक्रम’ रद्द गरेको छ।
रसुवाको भोटेकोशी क्षेत्रमा गत २६ अगस्ट २०२६ मा आएको भीषण बाढीबाट भएको जनधनको ठूलो क्षतिपछि देश शोकमा रहेका बेला कार्यक्रम रद्द गर्ने निर्णय गरिएको तमु समाज यूकेका सचिव सुब घलेले सोमबार सूचनामार्फत जानकारी दिएका हुन् । सूचनामा देशमा आइपरेको यस दुःखद परिस्थितिलाई मध्यनजर गर्दै १२ सेप्टेम्बर २०२६ मा आयोजना गर्ने तयारी गरिएको ‘लेडिज नाइट तथा तीज कार्यक्रम’ रद्द गरिएको उल्लेख छ।
संस्थाले बाढीमा परी ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।
संस्थाले आफ्ना सम्पूर्ण सदस्य, आमा समूहका दिदीबहिनी तथा शुभचिन्तकहरूको समझदारी, साथ र सहयोगप्रति धन्यवाद व्यक्त गरेको छ। यस दुःखद घडीमा बाढीपीडित परिवारको सहयोगका लागि सबैलाई एकजुट हुनसमेत तमु समाज यूकेले अपिल गरेको छ।






