लन्डन । मनोक्रान्ति टीम यूकेले भोटेकोशी तथा रसुवा, नुवाकोट क्षेत्रमा बाढीबाट प्रभावित पीडितका लागि ७२ घण्टाभित्र सहयोग रकम संकलन गरी नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा पठाउने निर्णय गरेको छ।
प्रत्येक बिहान सञ्चालन हुँदै आएको अनलाइन योग कक्षामा सहभागीहरूबीच अगस्ट ३१ मा छलफल गरी उक्त निर्णय गरिएको टीम लिडर एवं अभियान संयोजक नगेन्द्रराज नेम्बाङले जानकारी दिएका छन् । उनका अनुसार बाढीबाट प्रभावित क्षेत्रमा तत्काल सहयोगको आवश्यकता रहेको भन्दै ढिलासुस्ती नगरी आ–आफ्नो आर्थिक क्षमताअनुसार सहयोग गर्ने निर्णय गरिएको हो ।
योग कक्षामा सहभागी सबैले विपद्को यस घडीमा प्रभावित नागरिकलाई सहयोग गर्नुपर्नेमा सकारात्मक धारणा व्यक्त गरेका थिए। त्यसैअनुसार तत्काल सहयोग संकलन अभियान अघि बढाइएको हो।
अभियान सुरु भएको २४ घण्टामै २ लाख रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भइसकेको अभियान संयोजक नेम्बाङले जानकारी दिए। बाँकी समयभित्र थप सहयोग संकलन गरी एकमुष्ट रूपमा प्रधानमन्त्री राहत कोषमा पठाउने तयारी गरिएको उनले बताए।
मनोक्रान्ति टीम यूकेले यस अभियानमा मनोक्रान्तिप्रेमी, मनोक्रान्तिका शुभेच्छुक तथा मनोक्रान्ति विश्व परिवारअन्तर्गत युरोपलगायत विभिन्न देशमा रहेका सम्पूर्ण सदस्य तथा शुभेच्छुकहरूलाई सहयोगका लागि आह्वान गरेको छ।
बाढी तथा पहिरोबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन सक्दो सहयोग गर्न अपिल गर्दै मनोक्रान्ति टीम यूकेले विपद्को समयमा सबै एकजुट भएर मानवीय सहयोगमा जुट्न आग्रह गरेको छ।






