लन्डन । तमु धीं यूकेले नेपालका बाढी, पहिरो प्रभावितका लागि १ करोड १ हजार रुपैयाँ सहयोग घोषणा गरेको छ ।
भोटेकोशी बाढी प्रभावितलाई समर्पित गर्दै ३० अगस्टमा १७ औं नेपाली मेला सम्पन्न गरेसँगै बसेको जुम बैठकमा सहयोग रकम घोषणा गरिएको हो । नेपाली मेलाबाट बचत रकम र बाँकी सहयोग संकलन गरेर नेपाल पठाइने तमु धीं यूकेको योजना छ ।
तमु धीं यूकेले नेपालमा परेको दुःखलाई सहयोग र एकतामा रूपान्तरण गर्ने उद्देश्यले राहत संकलन अभियान सुरु गरेको हो । तमु धीं यूकेका उपाध्यक्ष तथा नेपाली मेलाका संयोजक कमल कोने गुरुङले नेपाल विपद्को घडीमा रहेका बेला नेपाली मेलालाई केवल सांस्कृतिक कार्यक्रमका रूपमा सीमित नराखी मानवीय सहयोगको माध्यम बनाउने उद्देश्यले राहत संकलन अभियान अघि बढाइएको जानकारी दिनुभयो।
महासचिव डा. विशाल गुरुङको सञ्चालनमा भएको बैठकमा कोषाध्यक्ष अरुण गुरुङले हालसम्म संकलन भएको राहत रकमको विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार अध्यक्ष जुमकाजी गुरुङले ५०५ पाउन्ड, नेपाली मेला संयोजक तथा उपाध्यक्ष कमल गुरुङले ५०० पाउन्ड, खेलकुद संयोजक क्याप्टेन दीपक घलेले ५० हजार नेपाली रुपैयाँ सहयोग घोषणा गरेका छन् ।
यसैगरी ह्याम्पशायर र सर्रे इकाईका अध्यक्ष महेन्द्र गुरूङले इकाईका तर्फबाट १,००० पाउन्ड र वकिङ इकाईका अध्यक्ष शेरकाजी गुरूङले इकाईका तर्फबाट १,००० पाउन्ड र तमु धीं यूके आमा समूहको तर्फबाट १,००० पाउन्ड सहयोग गर्ने घोषणा गरिएको छ । यससँगै तमु धीं यूकेले आफ्नो कार्यसमिति, पूर्वअध्यक्षहरू, ट्रस्टीहरू, सल्लाहकारहरू तथा आजीवन सदस्यहरूबाट समेत थप राहत रकम संकलन गर्ने निर्णय भएको तमु धीं यूकेका मिडिया सचिव एसके गुरुङले जानकारी दिनुभयो ।
बाढी पीडित सहयोग संकलन अभियान यही १५ सेप्टेम्बरसम्म मात्र गरिने जानकारी वरिष्ठ उपाध्यक्ष परशु गुरुङले जानकारी दिनुभयो ।
बैठकको अन्त्यमा १७औँ नेपाली मेला संयोजक गुरुङले सम्पूर्ण कार्यसमितिको सल्लाह तथा सुझावलाई समेट्दै नेपालका लागि सञ्चालन गरिएको राहत संकलन अभियानमा साथ र सहयोग पुर्याउने सम्पूर्ण सहभागी संस्था, रेस्टुरेन्ट, स्टल तथा सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभयो।
अध्यक्ष जुमकाजी गुरुङले नेपालमा परेको विपद्को कठिन घडीमा तमु धीं यूकेको कार्यसमिति एकजुट भएर राहत संकलन अभियानलाई अघि बढाउन सफल भएकोमा उहाँले सम्पूर्ण कार्यसमितिलाई धन्यवाद दिनुभयो । नेपाली मेलालाई सफल बनाउन तथा राहत अभियानमा योगदान पुर्याउने सबैप्रति उहाँले भावुक हुँदै विशेष आभार व्यक्त गर्नुभएको थियो ।






