लन्डन । बेलायतबाट एक औपचारिक कार्यक्रमका लागि नेपाल गएकी ओमिता शेर्पा गोसाइँकुण्ड जाने क्रममा रसुवाबाट सम्पर्कविहीन भएकी छन्।
बाढी आएको दिन अगस्ट २६ बिहान करिब ९ बजे शेर्पा रसुवा नाकामा रहेको र सोही समयमा परिवारसँग उनको अन्तिम पटक कुराकानी भएको बताइएको छ। त्यसयता उनको अवस्था अज्ञात रहेको परिवारले जनाएको छ।
बेलायतमा बसोबास गर्दै आएको शेर्पाको परिवार उनको अवस्थाबारे जानकारी नहुँदा अत्यन्तै चिन्तित बनेको छ। परिवारले सम्बन्धित निकाय, सुरक्षाकर्मी तथा स्थानीयवासीलाई ओमिता शेर्पाको खोजी तथा उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाइदिन आग्रह गरेको छ।
परिवारले शेर्पाबारे कुनै जानकारी प्राप्त भएमा नजिकैको प्रहरी कार्यालय वा ९८४१४३७०६३ नम्बरमा तत्काल खबर गरिदिन अनुरोध गरेको छ।
शेर्पाको खोजी तथा उद्धारका लागि सम्बन्धित सबै पक्षलाई आवश्यक सहयोग र समन्वय गरिदिन परिवारले हार्दिक अपिल गरेको छ।






