लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युगान्डाले नेपालका बाढीपीडितका लागि ३५ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको राहत सामग्री सहयोग गर्ने तयारी गरेको छ।
रसुवा, नुवाकोट र चितवनका बाढीपीडितलाई लक्षित गर्दै टेन्ट, ग्यास चुल्हो, ग्यास सिलिन्डरलगायत अत्यावश्यक राहत सामग्री उपलब्ध गराउने तयारी गरिएको एनआरएनए युगान्डाले जनाएको छ।
राहत सहयोगका लागि युगान्डामा रहेका नेपाली समुदाय, उद्योगी–व्यवसायी तथा विभिन्न प्रतिष्ठानबाट सहयोग संकलन भइरहेको छ। विपद्को यस कठिन समयमा प्रभावित परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।
एनआरएनए युगान्डाकी अध्यक्ष रमा अर्यालको नेतृत्वमा छिट्टै संघको टोली नेपालका प्रभावित क्षेत्रमा पुगेर राहत सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको एनआरएनए युगान्डाका पूर्वअध्यक्ष रमेश कँडेलले जानकारी दिएका छन्।
नेपालमा आएको विपद्का बेला अफ्रिकामा रहेका नेपाली समुदायले देखाएको सहयोग र ऐक्यबद्धताले प्रवासी नेपालीहरू मातृभूमिको दुःखमा सँगै उभिएको सन्देश दिएको छ।






