हिन्दू र बौद्धको श्राद्धस्थल

SHARE:

वेत्रावती । “सबै जनाले कर्मपात्रोमा पानी चढाउनुहोला, हातमा जल लिनोस्, अनि पितृलाई सम्झनुहोस्”, पं वेनीप्रसाद सापकोटा वेत्रावतीस्थित नदी किनारमा तीनतिर बसेका जजमानलाई मन्त्रोच्चारण गर्दै र सिकाउँदै थिए ।

नुवाकोट कुमारीका टङ्कनाथ मुडभरी, बट्टारका विष्णु क्षेत्री र ज्ञानबहादुर राईको परिवारलाई राखेर सापकोटा एकै पटक तीन वटा श्राद्ध गराउँदै थिए । शनिबार पौषेऔँसीका दिन बिहान स्नान गरेर चोखो कपडामा रहेका तीर्थालुको घुइँचो थियो । कोही स्नानमा व्यस्त देखिन्थे । पितृतर्पणका लागि श्राद्ध गर्ने तीर्थालुका साथमा श्राद्धको सिदा, नैवेद्य, फलफूललगायत सामग्री थियो । केही जजमानले ब्राह्मणलाई सँगै ल्याएका थिए । कतिपय तीर्थालुले यहीँका ब्राह्मण बोलाएर पितृलाई सम्झँदै थिए । उत्तरगयाको बगरभरि श्राद्ध गर्नेको भीड टाढैबाट देखिन्थ्यो ।

तीर्थालु सबैको एउटै भनाइ थियो, ‘पितृको उद्धार (पितृमोक्ष)का लागि पुण्यभूमिमा श्राद्ध गर्न आएको ।’ पल्लोपट्टि तामाङ संस्कारअनुसार श्राद्ध गर्नेहरुको भीड थियो । धादिङ जिल्ला थाँक्रेका सूर्यबहादुर लामाले पितृमोक्षका लागि श्राद्ध गर्न आएको बताए । दानदक्षिणाका साथ लामा जौको पीठो मुछेर स्वर्गीय बाबुआमालाई दिँदै थिए । मुद्धामल (श्राद्ध) गर्दा पितृहरुको पापमोक्ष हुन्छ भनेर वेत्रावतीमा आएको उनले बताए । नजीक खेमबहादुर लामा पनि लाखबत्ती बालेर पितृलाई सम्झँदै थिए । “मरेको मान्छेको सम्झनामा यहाँ आएको”, कर्म गर्दै गर्दा उहाँले सङ्क्षिप्त प्रतिक्रिया दिए ।

चितवन, पार्वतीपुरका वासुदेव रिजाल र बारा डुमरवानाका बृद्धिनाथ रिमालले समेत वेत्रावतीमा पुगेर पुसेऔँसीमा पितृलाई तर्पण दिए । नुवाकोट, बेलकोटका ८० वर्षीय ढलप्रसाद पौडेलले १५ वर्षदेखि वेत्रावतीमा पितृ तर्पण गर्दै आएका बताए ।

यस्तै आस्थाका साथ रसुवा र नुवाकोटको सिमानामा हजारौँले तीर्थकर्म गरे । ऐतिहासिक, धार्मिक, पौराणिक, सांस्कृतिक, पर्यटकीय र जैविक हिसाबले समेत वेत्रावती महत्वपूर्ण स्थान हो । रसुवाको उत्तरगया गाउँपालिका तथा नुवाकोटको विदुर नगरपालिका र किस्ताङ गाउँपालिकासँग जोडिएको दुई जिल्लाको सीमा क्षेत्रमा पर्ने वेत्रावती समुद्र सतहबाट ७६४ मिटरको उचाइमा छ । शीतोष्ण हावापानी रहेको यो सामरिक महत्वको क्षेत्र हो ।

सन् १८४९ मा नेपाल–तिब्बत सन्धि भएको स्थानका कारण वेत्रावतीको ऐतिहासिक महत्व छ । स्थानीय अगुवा शिव लामिछानेले गोसाइँकुण्डबाट बग्ने त्रिशूली, भैरवकुण्डबाट आउने रुद्रगङ्गा र त्यहीँ उत्पन्न भएको वेत्रगङ्गाको सङ्गम उत्तरगया (वेत्रावती) आफैँमा पवित्र भूमि भएको बताउनुभयो । त्रिशूलीसँग एक किमीमाथि उत्तरमा सलाँखु नाम गरेको खोलो पनि मिसिन्छ ।

काठमाडौँबाट ७० किमी उत्तरमा रहेको वेत्रावती जान धादिङको गल्छी, नुवाकोटको ककनी र काठमाडौँको टोखाको छुट्टाछुटै तीन बाटा छन् । उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्साल चीनसँग सन्धि भएको र पौराणिक तथा ऐतिहासिक हिसाबले पनि महत्वपूर्ण तीर्थस्थल भएकाले यसको महत्व अन्य तीर्थस्थलको तुलनामा भिन्न रहेको जिकिर गर्नुहुन्छ । स्थानीयवासीका अनुसार पुसेऔँसीमा मात्रै करीब ३० हजार धार्मिक पर्यटक र वर्षभरि तीन लाखको हाराहारीमा सबैथरिका पर्यटक(भारत, भुटान, थाइल्याण्ड आदि) आउँछन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!