काठमाडौं । नेपालभाषा एकेडेमीको आयोजनामा कीर्तिपुरको न्यामाँसिमास्थित अरनिको हलमा विशेष सांगीतिक कार्यक्रम ‘कला व सिर्जना’ भव्य रूपमा सम्पन्न भएको छ ।
गायक तथा संगीतकार स्वर्गीय योगेश वैद्यको ८० औं जन्मजयन्तीको अवसरमा उनको सांगीतिक योगदानको स्मरण गर्दै आयोजित कार्यक्रममा उनका १७ वटा कालजयी गीतहरू प्रस्तुत गरिएका थिए ।
कार्यक्रम सुरु गर्न अघि स्व. जनकवि दुर्गालाल श्रेष्ठ, स्व. कवि नारायण देवी श्रेष्ठ, स्व. कथाकार सरस्वती तुलाधर र भोटेकोशी बाढीमा परी दिवंगत भएका महानुभावहरुको चिर शान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरेका थिए ।
कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एकेडेमीका भाइस चान्सलर डा.पुष्पराज राजकर्णिकारले स्वागत मन्तव्य व्यक्त गर्दै नेपालभाषा र नेपाली सुगम संगीतका नक्षत्र योगेश वैद्यको सांगीतिक उचाइको चर्चा गरेका थिए ।

कार्यक्रममा विशेष अतिथिहरुका रूपमा वरिष्ठ गीतकार राजेन्द्र थापा, वरिष्ठ गीतकार बालकृष्ण सजिव, वरिष्ठ संगीतकर्मी दीप तुलाधर, वरिष्ठ गजलकार भूषणप्रसाद श्रेष्ठ र काठमाडौँ महानगरपालिका वडा नं. १८ का अध्यक्ष तथा गीतकार न्हुच्छेकाजी महर्जनको उपस्थिति रहेको थियो ।
सांगीतिक माहोलमा गायक/गायिकाहरू वीरप्रसाद भन्सारी, कृष्णमान डंगोल, जुजुकाजी रञ्जित, दीप तुलाधर, शेखर प्रधान, सत्यनारायण मानन्धर, तीर्थ माली, गुज्य मालाकार, पवित्र कसाः, सानुबाबु महर्जन, सतिश महर्जन, शान्तराज शाक्य, शुलिन शाक्य, सुरेन्द्र श्रेष्ठ, मथुरा महर्जन, जीवित जल्मी, रिता महर्जन, रत्नशोभा महर्जन, रानीशोभा महर्जन, राजेश महर्जन, सुविन श्रेष्ठ, मोहनशोभा महर्जन, राजेन्द्र डंगोल र रफेला महर्जनले स्वर्गीय योगेश वैद्यका लोकप्रिय गीतहरू प्रस्तुत गरेर हलमा उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध पारेका थिए ।

वाद्यवादनतर्फ तबलामा न्हुच्छे दर्शन, गिटारमा सञ्जु शाही र हार्मोनियममा गुज्य मालाकारले साथ दिएका थिए । कार्यक्रम निर्मल बज्राचार्यले योगेश वैद्यका विभिन्न रोचक तथ्यहरु प्रस्तुत गर्दै कुशल ढंगले सञ्चालन गरेका थिए ।
कार्यक्रममा स्वर्गीय योगेश वैद्यका परिवारका तर्फबाट उहाँका छोरा लोकेश वैद्य, छोरीहरू ज्यास्मिन र लभलिना तथा भाइ सुवास वैद्यको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रमको समापनमा नेपालभाषा एकेडेमीका चान्सलर मल्ल के. सुन्दरले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने कलाकार, संगीतकार तथा सहयोगीहरूलाई धन्यवाद पत्र प्रदान गरेका थिए भने लोकेश वैद्यले आफ्ना पिताको आत्म वृतान्त स्वर्णिम संस्मरण प्रदान गरेका थिए ।






