लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)की महिला उपाध्यक्ष राधिका गुरुङ (टीका) ले बाढी प्रभावित परिवारसँग भेटघाट गरी उनीहरूको अवस्था र तत्काल आवश्यक सहयोगबारे जानकारी लिएकी छन्।
भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटको उत्तरगया गाउँपालिका–वेत्रावती वडा नं. ५ का परिवारसँग गुरुङले मंगलबार भेटघाट गरेकी हुन् । भेटका क्रममा उनले बाढीबाट भएको क्षति, परिवारको वर्तमान अवस्था तथा उनीहरूलाई आवश्यक तत्कालीन सहयोगका विषयमा जानकारी लिएका एनआरएनए सचिवालयले जनाएको छ । ।
भेटमा एनआरएनएका महासचिव डा.चिरञ्जीवी खड्का पनि सहभागी थिए ।
बाढीपीडित परिवारसँगको भेटका क्रममा एनआरएनएको राहत तथा मानवीय सहयोग अभियानमार्फत प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने तथा आगामी दिनमा आवश्यक सहजीकरण गर्ने विषयमा समेत छलफल भएको थियो।
भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि एनआरएनएले उद्धार तथा राहतका विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। राहत अभियानअन्तर्गत रसुवाका विभिन्न बाढी प्रभावित क्षेत्रमा राहत सामग्री पठाउने तयारीसमेत भइरहेको संघले जनाएको छ।






