बेलायत – २६ अगस्ट २०२६ का दिन नेपाली राजदूतावास, लन्डनले भोटकोशी बाढीपीडितहरूको राहत तथा उद्धारका लागि आर्थिक सहयोगको अपिल गर्दै बैंक खाता विवरणसहितको सूचना जारी गरेको छ।
सूचनामा नेपालको भोटकोशी र त्रिशुली नदी करिडोरमा आएको विनाशकारी बाढी तथा पहिराका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायतका नदी तटीय क्षेत्रहरूमा भएको ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरिएको छ।
सार्वजनिक पूर्वाधार, निजी सम्पत्ति र आवासहरूमा ठूलो क्षति पुगेसँगै नेपाल सरकारले उद्धार, राहत र पुनर्स्थापनाको कार्यलाई तिब्रता दिएको छ। बाढी प्रभावित क्षेत्रमा तत्कालको राहत वितरण तथा दीर्घकालीन पुनर्निर्माणका लागि ठूलो मात्रामा आर्थिक स्रोतको आवश्यकता पर्ने सूचनामा उल्लेख छ।
यसै सन्दर्भमा, बेलायतमा रहनुभएको सम्पूर्ण इच्छुक महानुभावहरू, संघसंस्था, व्यापारिक समुदाय तथा नेपालका हितैषीहरूलाई मानवीय सहायताका लागि खुला हृदयले आर्थिक सहयोग गर्न नेपाली राजदूतावास, लन्डनले हार्दिक अपिल गरेको छ।
बेलायतबाट सहज रूपमा सहयोग रकम जम्मा गर्न सकियोस् भनी राजदूतावासले लन्डनस्थित बैंकमा खाता सञ्चालनमा ल्याएको छ। प्राप्त हुने सम्पूर्ण सहयोग रकम पछि नेपालस्थित प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा हस्तान्तरण गरिनेछ।
बैंक खाता विवरण (Bank Account Details)
- बैंकको नाम (Bank Name): Lloyds Bank
- खाताको नाम (Account Name): Embassy of Nepal
- सर्ट कोड (Sort Code): 30-65-41
- खाता नम्बर (Account Number): 53896060
सहयोगकर्ताहरूका लागि विशेष ध्यान दिनुपर्ने कुराहरू:
सहयोग रकम हस्तान्तरण (Transfer) गर्दा उद्देश्य वा सन्दर्भ (Purpose or Reference) सेक्सनमा अनिवार्य रूपमा ‘Donation’ वा ‘Support’ उल्लेख गर्नुहोला।
वित्तीय पारदर्शिता र अभिलेख व्यवस्थापनलाई सहज बनाउन, सहयोगदाता महानुभावहरूले बैंक भौचर वा ट्रान्सफर गरेको प्रमाणको प्रतिलिपि राजदूतावासको accounts@nepembassy.org.uk ठेगानामा इमेलमार्फत पठाइदिनुहुन अनुरोध गरिन्छ।
यस कठिन घडीमा नेपाल र नेपाली जनताप्रति अमूल्य सहयोग र ऐक्यवद्धता जनाउनुहुने सम्पूर्ण महानुभावहरू, संघसंस्था तथा शुभचिन्तकहरूप्रति नेपाली राजदूतावास, लन्डनले हार्दिक आभार व्यक्त गरेको छ।






