काठमाडौं । नेपाल तामाङ घेदुङ संघीय कार्यसमितिले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि सञ्चालन गरिरहेको राहत संकलन अभियानमा २० लाखभन्दा बढी जम्मा भएको छ ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यले घेदुङले सञ्चालन गरेको अभियानमा बिहीबारसम्म २० लाख ६५ हजार रुपैयाँ संकलन भएको नेपाल तामाङ घेदुङले जानकारी दिएको छ । अभियानअन्तर्गत पछिल्लो पटक तामाङ सोसाइटी अफ नर्थ अमेरिका सेन्ट्रल कमिटीले घेदुङको राहत कोषमा १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ। घेदुङका उपाध्यक्ष तथा विदेश समन्वय प्रमुख रुप योन्जन तामाङका अनुसार उक्त रकम बाढी प्रभावित परिवारको राहतका लागि कोषमा जम्मा गरिएको हो।
सहयोग रकम उपलब्ध गराएकोमा उपाध्यक्ष योन्जनले तामाङ सोसाइटी अफ नर्थ अमेरिका सेन्ट्रल कमिटीका अध्यक्ष मोहन वाइबा लगायत सम्पूर्ण कार्यसमितिप्रति धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ।
यसैगरी, नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति बहराइनले १ लाख ११ हजार १ सय ११ रुपैयाँ राहत कोषमा सहयोग गरेको छ। विपत्तिमा परेका परिवारलाई थोरै भए पनि हातेमालो गर्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको बहराइन घेदुङले जनाएको छ। यी पछिल्ला सहयोगसँगै नेपाल तामाङ घेदुङ संघीय समितिको राहत कोषमा जम्मा भएको रकम २० लाख ६५ हजार ६ सय ७ रुपैयाँ पुगेको छ।
राहत संकलन अभियान केही समयसम्म निरन्तर सञ्चालन गरिने घेदुङले जनाएको छ। संकलित रकम प्रभावित परिवारको आवश्यकता पहिचान गरी राहत सामग्रीका साथै आवश्यकताअनुसार आर्थिक सहयोगसमेत उपलब्ध गराउने योजना रहेको विपद् प्रमुख हिरालाल दोङ तामाङले जानकारी दिनुभएको छ।
घेदुङका संघीय अध्यक्ष रामकृष्ण ब्लोन तामाङले बाढी प्रभावित क्षेत्रमा राहत सामग्री वितरणमा असमानता देखिएको बताउनुभएको छ। उहाँका अनुसार स्थलगत रूपमा पुग्दा कतिपय क्षेत्रमा खाद्यान्नलगायतका राहत सामग्री थुप्रिएको भए पनि कतिपय अति प्रभावित क्षेत्रमा भने आवश्यक राहत पुग्न नसकेको अवस्था देखिएको छ । बाढीका कारण सडक तथा पुलहरू ध्वस्त भएकाले अति प्रभावित क्षेत्रमा राहत पुर्याउन कठिनाइ भइरहेको भन्दै अध्यक्ष ब्लोनले सरकारले यस्ता क्षेत्रमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।
अब घेदुङले खाद्यान्न वितरणमा मात्रै केन्द्रित नभई प्रभावित परिवारको वास्तविक आवश्यकता पहिचान गरेर सोहीअनुसार सहयोग गर्ने नीति अघि बढाउने जनाएको छ ।






