काठमाडौं । मनोक्रान्ति-विकासानन्द फाउन्डेशन विश्व परिवारले भोटेकोशी बाढीबाट प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा ३० लाख रुपैयाँ सहयोग गरेको छ ।
मनोक्रान्ति अभियानका डा. योगी विकाशानन्द, रेकी दिक्षा प्रशिक्षक कमलेश्वरी, विकासानन्द फाउन्डेशन विश्व परिवारका केन्द्रीय सचिव क्वान्टम सम्बुद्ध श्रेष्ठसहितका प्रतिनिधिमण्डल आइतबार भदौ २८ गते सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो ।

फाउन्डेशनका अनुसार डा. योगी विकाशानन्दबाट १० लाख, कमलेश्वरीबाट एक लाख तथा मनोक्रान्तिका साधक–साधिकाबाट प्राप्त रकम जम्मा गरी ३० लाख रुपैयाँ राहत कोषमा पुर्याइएको हो । बाढीपीडितका लागि सहयोग जुटाउन फाउन्डेसनले शनिबार काठमाडौंमा एकदिने ध्यान साधना कार्यक्रमसमेत आयोजना गरेको थियो । कार्यक्रममा सहभागी तथा देश–विदेशमा रहेका मनोक्रान्तिका साधक–साधिकाबाट सहयोग संकलन गरिएको फाउन्डेसनले जनाएको छ ।
फाउन्डेसनले ‘आफ्नो लागि साधना–अरूका लागि सेवा’ भन्ने उद्देश्यअनुसार विपद्का बेला सहयोग गर्दै आएको जनाएको छ । प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न गुरुदेवले गरेको आह्वानपछि सहयोग गर्ने सबै साधक–साधिकालाई फाउन्डेसनले धन्यवादसमेत दिएको छ ।







