बेलायत – बेलायत सरकार र भूतपूर्व गोर्खा प्रतिनिधिहरूबीचको वार्ता सकारात्मक रूपमा अघि बढ्ने संकेत देखिएको छ। बेलायती मन्त्रिपरिषदमा भएको फेरबदलका कारण केही समय स्थगित जस्तो देखिए पनि बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको निरन्तर प्रयासले वार्ताले पुनः गति लिएको छ।
औपचारिक रूपमा ‘वार्ता’ भनी सम्बोधन नगरिए पनि आउँदो सोमबार, १४ सेप्टेम्बर २०२६ का दिन साँझ लन्डनस्थित नेपाली दूतावासमा विशेष रात्रिभोजको आयोजना गरिएको छ। सोही अवसरमा दुवै पक्षबीच औपचारिक तथा अनौपचारिक छलफल हुने र वार्ता सकारात्मक निष्कर्षतर्फ अघि बढ्ने अपेक्षा गरिएको छ।
उक्त रात्रिभोजमा बेलायतका भेट्रान्स मन्त्री काल्भिन बेली र उनको टोली, नेपाल मामिला हेर्ने बेलायती संसद्को सर्वदलीय समूहकी अध्यक्ष तथा रक्षा विशेष समितिकी सदस्य एवं सांसद एलेक्स बेकर र उनको टोली, कार्यवाहक राजदूत विपिन दुवाडी, सैनिक सहचारी महासेनानी (ब्रिगीडियर जेनेरल) अनुप शाह, ‘जी-टेन’ आबद्ध गोर्खा प्रतिनिधिहरू र दूतावासका कर्मचारीहरूको सहभागिता रहनेछ। कार्यक्रममा नेपाल सरकारका पराष्ट्र मन्त्री शिशिर खनाल समेतको सहभागिता रहने सम्भावना रहेको बताइएको छ।
कार्यवाहक राजदूत विपिन दुवाडीले यसअघि एकल रूपमा धेरै चरणमा वार्ता गरे पनि ‘जी-टेन’ आबद्ध गोर्खा प्रतिनिधिहरूसँग भेट्रान्स मन्त्रीसंग प्रत्यक्ष बैठक बस्न लागेको यो पहिलो पटक हो। यो बैठक दुवै पक्षबीचको समस्या समाधानका लागि पूर्ण रूपमा ‘सोलुसन ओरिएन्टेड’ (निकासमुखी) वार्ता हुने विश्वास लिइएको छ।






