शिवकुमार गुरुङ
गत शनिबार हामीले लन्डनको व्यस्त वेम्बलीस्थित अल्पर्टन क्षेत्रबाट पारिवारिक कार यात्रा सुरु गर्यौँ। अल्पर्टनका साँघुरा सडकहरू पार गर्दै पेरिभेल, ग्रिनफोर्ड, नर्थोल्ट र अक्सब्रिज हुँदै A40 बाट M40 मोटरवेमा प्रवेश गर्यौँ।
M40 को जङ्क्सन १ देखि जङ्क्सन ८ सम्म उत्तरतर्फ यात्रा गर्दा बिकन्सफिल्ड (Beaconsfield), हाइ विकम (High Wycombe) र ऐतिहासिक विश्वविद्यालय सहर अक्सफोर्ड (Oxford) आसपासका रमणीय क्षेत्रहरू पार गर्यौँ। जङ्क्सन ८ पछि पुनः A40 समातेर प्रसिद्ध बजार सहर विटनी (Witney) नजिकै हुँदै B4425 को शान्त र साँघुरो ग्रामीण सडकतर्फ लाग्यौँ।
B4425 सडक तुलनात्मक रूपमा साँघुरो भएकाले ठूला गाडी तथा बस चलाउन केही असजिलो देखिन्थ्यो। तर सडकका दायाँ–बायाँ फैलिएका हराभरा खेतबारी, साना सुन्दर बजार तथा परम्परागत गाउँका मनमोहक दृश्यहरूले यात्रालाई अत्यन्त रमाइलो बनाएका थिए । करिब दुई घण्टाको आरामदायी यात्रापछि हामी आफ्नो पहिलो गन्तव्य बिबरी ट्राउट फार्म (Bibury Trout Farm) पुग्यौँ।

कृतज्ञता तथा सूचनाको स्रोत
हाम्रो यस भ्रमणलाई सहज र व्यवस्थित बनाउन तमु समाज यूकेका सल्लाहकार तथा निवर्तमान सहकोषाध्यक्ष आदरणीय सोल्टी रोबिन गुरुङले तमु समाज यूकेको ग्रीष्मकालीन भ्रमणका लागि सन् २०२४ मा तयार पार्नुभएको स्थलगत अवलोकन प्रतिवेदन (Recce Report)ले ठूलो सहयोग पुर्याएको थियो । प्रतिवेदनमा उल्लेख गरिएका धेरैजसो विवरण अहिले पनि उस्तै रहेछन्। यद्यपि, सन् २०२६ सम्म आइपुग्दा प्रवेश शुल्क, कार पार्क शुल्क तथा केही सेवाका मूल्यमा वृद्धि भएको पाइयो। यात्रा तय गर्नुअघि उक्त जानकारी अध्ययन गरेकाले हामीलाई योजना बनाउन निकै सहज भयो। यसरी उत्कृष्ट, उपयोगी र भरपर्दो जानकारी उपलब्ध गराइदिनुभएकोमा आदरणीय सोल्टी रोबिन गुरुङज्यूप्रति हार्दिक धन्यवाद तथा गहिरो कृतज्ञता व्यक्त गर्दछु।
बिबरी ट्राउट फार्मको अनुभव तथा अद्यावधिक जानकारी
कोट्सवोल्ड्स (Cotswolds) क्षेत्रको सुन्दर बिबरी गाउँमा अवस्थित यो ट्राउट फार्म सन् १९०२ मा स्थापना भएको हो। यो इङ्ग्ल्यान्डकै सबैभन्दा पुरानो सञ्चालनमा रहेको ट्राउट फार्म मानिन्छ।
नेपालको गण्डकी ट्राउट फार्ममा जस्तो आफूले रोजेको माछाको परिकार बनाएर दिने रेस्टुरेन्टको व्यवस्था यहाँ देखिएन। तर पोखरीमा रहेका विभिन्न आकारका ट्राउट माछा हेर्न, दाना खुवाउन र बल्छी प्रयोग गरी आफैँ माछा मार्न पाइने भएकाले अनुभव निकै रमाइलो र फरक लाग्यो।
पार्किङ तथा प्रवेश शुल्क
कार पार्कमा दिनभरिका लागि £१० शुल्क लाग्दो रहेछ। फार्म प्रवेशका लागि वयस्कलाई £९.५० र ज्येष्ठ नागरिकलाई £८.५० शुल्क तोकिएको छ। विगतको तुलनामा यी शुल्कमा केही वृद्धि भएको पाइयो।

माछा मार्ने सुविधा र सुरक्षा जानकारी
फार्मभित्र प्रवेश गरेपछि कर्मचारीहरूले माछा मार्ने विधि र सुरक्षासम्बन्धी छोटो जानकारीमूलक भिडियो देखाउँछन्। बल्छी (Fishing Rod) लगायत आवश्यक सामग्रीको एक सेट भाडामा लिन £३ लाग्छ। उक्त सेटमा बल्छी, दाना (Bait), माछा राख्ने बाल्टी, जाल (Net) र माछालाई छिटो मार्न प्रयोग गरिने विशेष डन्डी उपलब्ध गराइन्छ।

यहाँ एउटा कडा नियम रहेछ—एकपटक बल्छीमा परेको माछा सानो वा ठूलो जस्तोसुकै भए पनि पुनः पानीमा छोड्न पाइँदैन। बल्छीबाट निकालेपछि त्यसलाई निर्धारित विधिअनुसार तत्काल मार्नुपर्ने रहेछ।यो प्रक्रिया प्रत्यक्ष देख्दा हामीलाई केही दुःखद महसुस भयो।त्यसैले सुरुमा माछा मार्ने सोच बनाएका भए पनि उक्त दृश्य देखेपछि हामीले आफ्नो सोच बदल्यौँ र माछा नमारी पोखरीमा दाना खुवाउँदै, ट्राउटहरू दाना खान झुम्मिएको रमाइलो दृश्य हेरेरै आनन्द लियौँ।
माछाको तौल, मूल्य र भण्डारण
आफूले मारेको माछा रिसेप्सनमा लगेर तौल गर्नुपर्छ। तौलअनुसार प्रतिकिलो £१३ तिर्नुपर्छ। माछा सफा गरिदिएको प्रतिमाछा £१ अतिरिक्त शुल्क लाग्छ। इच्छुक व्यक्तिले आफैँ पनि सफा गर्न सक्छन्। घुमफिर गरुन्जेल माछालाई फ्रिजमा सुरक्षित राखिदिने सुविधा पनि रहेछ। त्यसपछि माछा घर लैजान वा फार्ममै बारबिक्यु (BBQ) बनाएर खान सकिन्छ।
बारबिक्यु तथा पारिवारिक सुविधा
फार्मभित्रै आफूले मारेको माछा बारबिक्यु गरेर खाने राम्रो व्यवस्था छ। हट वा सेल्टर, कुर्सी–टेबल तथा बारबिक्यु स्ट्यान्ड उपलब्ध छन्। कोइला र लाइटरलगायत आवश्यक सामग्री पनि त्यहीँ किन्न पाइन्छ।

माछालाई दाना खुवाउने तथा घुम्ने सुविधा
प्रवेशद्वारमै प्रत्येक आगन्तुकलाई माछाको दानाको एक–एक पोका दिइन्छ। पोखरीमा दाना फाल्दा विभिन्न आकारका ट्राउट माछाहरू, हासहरु एकै ठाउँमा झुम्मिएको दृश्य हेर्न निकै मनोरञ्जनात्मक हुन्छ। पोखरीहरूका बीचमा बस्ने ठाउँहरू पनि बनाइएका छन्। ती स्थानमा घरबाटै लगेको खाना खाँदै परिवारसँग शान्त वातावरणमा रमाउन सकिन्छ।
अन्य सुविधा
यहाँ गिफ्ट सप, रेस्टुरेन्ट, कफी सप तथा ताजा माछा बिक्री केन्द्र पनि छन्। आफैँ माछा मार्न नचाहने व्यक्तिले बिक्रीका लागि राखिएका ताजा ट्राउट किन्न सक्छन्। फार्मभित्रको सुन्दर बगैँचामा केही समय बसेर आराम गर्दा छुट्टै आनन्द र शान्तिको अनुभूति हुन्छ।
इङ्ग्ल्यान्डकै सबैभन्दा सुन्दर गाउँ—बिबरी
ट्राउट फार्मको अवलोकनपछि हामी नजिकै रहेको ऐतिहासिक बिबरी गाउँ घुम्न निस्कियौँ। प्रसिद्ध बेलायती कलाकार तथा डिजाइनर विलियम मोरिसले बिबरीलाई “इङ्ग्ल्यान्डको सबैभन्दा सुन्दर गाउँ” (The most beautiful village in England) भनेर वर्णन गरेका थिए।

आर्लिङ्टन रो (Arlington Row)
सन् १३८० तिर ऊन भण्डारण गर्ने गोदामका रूपमा निर्माण गरिएका आर्लिङ्टन रोका यी ऐतिहासिक भवनहरूलाई १७औँ शताब्दीमा ऊन तथा धागोबाट कपडा बुन्ने कारीगरहरू(बुनकर weavers) बस्ने घरमा रूपान्तरण गरिएको थियो। आर्लिङ्टन रोका ऐतिहासिक ढुङ्गे घरहरू बेलायतमै सबैभन्दा धेरै तस्बिर खिचिने स्थानहरूमध्ये पर्छन्। ढुङ्गाका गारो र ढुङ्गाकै छानो भएका यी प्राचीन घरहरू हेर्न दैनिक ठूलो सङ्ख्यामा पर्यटक आउने गर्छन्।
आफू पनि नेपालको गाउँमा ढुङ्गे घरमै जन्मी–हुर्किएकाले हामीलाई ती घरहरू त्यति नौला लागेनन्। तर त्यहाँ आएका अन्य पर्यटकहरूले भने निकै चासो र आश्चर्यका साथ अवलोकन गरिरहेका थिए। हाम्रो गाउँका परम्परागत घरहरूको तुलनामा यहाँ छानोमा प्रयोग गरिएका ढुङ्गाहरू केही साना आकारका र निकै पुराना देखिन्थे।
शताब्दीयौँअघि निर्माण गरिएका भए पनि घरहरू अत्यन्त व्यवस्थित, समान आकार र सुन्दर शैलीमा मिलाएर बनाइएका रहेछन्। त्यतिबेलाका डकर्मी, सिकर्मी र योजनाकारहरूको सीप तथा कलाको प्रशंसा नगरी रहन सकिएन। सायद यस्तै विशेषताका कारण बिबरीलाई “इङ्ग्ल्यान्डको सबैभन्दा सुन्दर गाउँ” भनिएको होला।
पार्किङ तथा रेस्टुरेन्ट
गाउँमा पर्यटकहरूको अत्यधिक चहलपहल हुने भएकाले गाडी पार्क गर्ने ठाउँ पाउन निकै कठिन हुँदो रहेछ। ठूला पर्यटकीय बसहरूले यात्रुहरूलाई गाउँमा ओरालेर बाहिरका निर्धारित स्थानमा पार्किङ गर्ने रहेछन्। हामीले भने आफ्नो गाडी ट्राउट फार्मकै कार पार्कमा राखेर पैदल गाउँ घुम्यौँ।
पर्यटकहरूको बाक्लो उपस्थितिका कारण यहाँका रेस्टुरेन्टमा खाना तुलनात्मक रूपमा महँगो पाइन्छ। नजिकैको प्रमुख बजार सहर सिरेन्सेस्टर (Cirencester) हो, जुन बिबरीबाट करिब १५ मिनेटको ड्राइभमा पर्छ। हामी गएको दिन मौसम न धेरै गर्मी थियो, न धेरै जाडो—घुमफिरका लागि अत्यन्त अनुकूल थियो। करिब तीन घण्टासम्म बिबरी गाउँ र ट्राउट फार्मको अवलोकन गर्दै पारिवारिक मनोरञ्जनमा रमाएपछि हामी आफ्नो दोस्रो गन्तव्य कोट्सवोल्ड वाइल्डलाइफ पार्क एन्ड गार्डेन्स (Cotswold Wildlife Park and Gardens) तर्फ प्रस्थान गर्यौँ।

प्रकृतिको सुन्दर काखमा गरिएको यो पारिवारिक कार यात्रा आफैमा निकै रमाइलो थियो। अगाडिको सिटमा हामी दाजुभाइबीच आफ्नै किसिमको कुराकानी चलिरहेको थियो भने पछाडिको सिटमा दुई दिदीबहिनीको छुट्टै रमाइलो गफगाफ थियो। बीच–बीचमा ससुराबुवाले पनि आफ्ना रोचक प्रसङ्गहरू थप्नुहुँदा यात्राको वातावरण झन् आत्मीय र आनन्दमय बनेको थियो ।
हाँसो, गफगाफ र पारिवारिक आत्मीयताका बीच बिताएको त्यो दिन साँच्चै नै सुखद र अविस्मरणीय रह्यो। यदि तपाईं पनि लन्डन आसपासबाट एकदिने पारिवारिक यात्राको योजना बनाउँदै हुनुहुन्छ भने समयको उचित व्यवस्थापन गरी बिबरी ट्राउट फार्म, बिबरी गाउँ र कोट्सवोल्ड वाइल्डलाइफ पार्क एन्ड गार्डेन्सलाई एउटै यात्रामा समेट्न सक्नुहुन्छ।
हाम्रो दोस्रो गन्तव्य कोट्सवोल्ड वाइल्डलाइफ पार्क एन्ड गार्डेन्सको रमाइलो तथा रोमाञ्चक भ्रमण विवरण अर्को भागमा प्रस्तुत गर्नेछु ।






