काठमाडौं । रसुवा लगायत नेपालका विभिन्न स्थानमा आएको प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको सहयोगार्थ गुरुङ (तमु) लामा बौद्ध धर्म समाजले ४ लाख ८ रुपैयाँ आर्थिक राहत रकम हस्तान्तरण गरेको छ।
समाजले विपद्मा परेका नागरिकप्रति सहानुभूति प्रकट गर्दै पूजा–प्रार्थना, दीप अर्पण तथा राहत सहयोग संकलन कार्यक्रम सञ्चालन गरेको थियो। समाजका सदस्य, शुभेच्छुक तथा सहयोगी मनहरूबाट संकलित उक्त रकम मंगलबार अर्थ मन्त्रालयमा अर्थमन्त्री स्वर्णिम वाग्लेसमक्ष औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।
समाजले विपत्तिको कठिन घडीमा पीडित परिवारलाई साथ दिनु मानवताको दायित्व भएको उल्लेख गर्दै सहयोग रकम मानवता, करुणा र एकताको प्रतीक भएको जनाएको छ।
बुद्धको करुणा र मैत्रीको शिक्षालाई व्यवहारमा उतार्दै प्राणी सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दै समाजले राहत संकलन तथा हस्तान्तरणमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सदस्य, दाता, शुभेच्छुक तथा सहयोगी महानुभावप्रति आभार व्यक्त गरेको छ।






