लन्डन । तमु धीं यूकेले यही २० सेप्टेम्बरमा संरक्षणविद् तथा भूगोलविद् डा.हर्क गुरुङ तथा संरक्षणविद् तथा प्रकृति संरक्षणका अगुवा डा.चन्द्र गुरुङ स्मृति दिवस मनाउँदैछ ।
हरेक वर्ष मनाउँदै आइरहेको डा.हर्क गुरुङ तथा डा.चन्द्र गुरुङ स्मृति दिवस मिचेटस्थित तमु धीं यूकेको भवनमा एक कार्यक्रमबीच मनाउन लागिएको कार्यक्रम संयोजकसमेत रहेका तमु धीं यूकेका सचिव बिमल गुरुङले जानकारी गराएका छन् ।
स्मृति दिवसका अवसरमा डा. हर्क गुरुङ तथा डा. चन्द्र गुरुङको योगदान र स्मृतिलाई सम्मान गर्दै विशेष कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ।
मध्याह्न १२ देखि दिउँसो २ बजेसम्म तय गरिएको कार्यक्रममा सहभागी भई गरिमा बढाइदिन सम्पूर्ण सदस्य, शुभेच्छुक तथा समुदायका व्यक्तित्वहरूमा हार्दिक अनुरोध गरिएको छ।
२०६३ असोज ७ गते ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा उनीहरूको निधन भएको थियो । उक्त दुर्घटनामा भएको २० वर्ष पूरा हुँदै छ। २०६३ असोज ७ गते भएको त्यस दुर्घटनामा मुलुकका विभिन्न क्षेत्रका २४ विशिष्ट व्यक्तित्वको ज्यान गएको थियो ।
संरक्षणविद्, भूगोलविद्, योजनाविद्, सरकारी अधिकारी र वन्यजन्तु विशेषज्ञ यस दुर्घटनामा परेका थिए। कञ्चनजंघा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने समारोहमा सहभागी हुन विशिष्ट व्यक्तित्वहरूको टोली घुन्सा पुगेको थियो । उनीहरूको योगदानको स्मरण गर्दै असोज ७ लाई नेपाल सरकारले राष्ट्रिय संरक्षण दिवसका रूपमा मनाउने गरेको छ ।






