काठमाडौं । नेपाल र बेलायतबीचको मैत्री सम्बन्ध १०३ वर्ष पुगेको अवसरमा स्टेट एन्ड क्राफ्ट : रिडिङ्स् अन द १९२३ नेपाल-ब्रिटेन फ्रेन्डसिप ट्रटी’ नामक पुस्तक विमोचन गरिएको छ । टीकाप्रसाद ढकालले सम्पादन गरेको उक्त पुस्तक बुधबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।
उक्त पुस्तक नेपाल–बेलायतबीच सन् १९२३ मा भएको मैत्री सन्धि तथा दुई देशबीचको ऐतिहासिक सम्बन्धका विभिन्न पक्षमा केन्द्रित छ । पुस्तक विमोचन कार्यक्रममा नेपालका लागि बेलायती राजदूत रोब फेनले नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धका विभिन्न महत्त्वपूर्ण पक्षको स्मरण गरे ।
उनले सन् १८५० मा जंगबहादुर राणाको बेलायत भ्रमण, सन् १९२१ मा प्रिन्स अफ वेल्सको नेपाल भ्रमण तथा सन् १९२३ मा नेपाल र बेलायतबीच भएको मैत्री सन्धिलाई सम्बन्धका महत्त्वपूर्ण ऐतिहासिक घटनाका रूपमा उल्लेख गरे । एक शताब्दीभन्दा बढी समय बितिसक्दा पनि नेपाल र बेलायतबीचको सम्बन्ध साझा इतिहास, दीर्घकालीन सम्बन्ध र पारस्परिक सम्मानमा आधारित रहेको राजदूत फेनले बताए । त्यस्तै, नेपालमा २६ अगस्टमा भोटेकोशी बाढीपछि ‘भविष्य निर्माण’को चुनौती सामना गर्न पनि नेपाल र बेलायतले सहकार्य गर्न सक्ने बलियो आधार दुई देशबीचको लामो मित्रता रहेको राजदूत फेनले उल्लेख गरेका बेलायती दूतावासले जनाएको छ ।






