श्रवण मुकारुङको उपन्यास ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार दिइने

SHARE:

काठमाडौं । ‘खेमलाल–हरिकला लामिछाने प्रतिष्ठान’ले यस वर्षको पद्मश्री पुरस्कार तथा सम्मानका लागि तीन स्रष्टाको नाम घोषणा गरेको छ। प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रसिद्ध कवि तथा गीतकार श्रवण मुकारुङको उपन्यास ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार–२०८२ प्रदान गर्ने निर्णय गरिएको छ ।

प्रतिष्ठानमा प्राप्त १९२ पुस्तकमध्ये विस्तारित सूचीमा परेका १५ र संक्षिप्त सूचीका ५ कृतिमध्येबाट मूल्यांकन समितिले ‘सलह’लाई छनोट गरेको हो। ‘सलह’ले नेपाली समाजका सीमान्त आवाज, लैङ्गिक विभेद, हिंसा, विस्थापन र पहिचानका जटिल प्रश्नलाई कलात्मक ढङ्गले प्रस्तुत गरेको प्रतिष्ठानले जनाएको छ । काव्यिक भाषा, प्रतीकात्मकता, जीवन्त प्रकृति–चित्रण र मार्मिक कथनशैली कृतिका प्रमुख विशेषता रहेको मूल्यांकन समितिको निष्कर्ष छ । त्यस्तै, नेपाली साहित्यमा पाँच दशकदेखि साधनारत कृष्ण धरावासीलाई पद्मश्री साधना सम्मान प्रदान गर्ने निर्णय गरिएको छ ।

धरावासीका ‘शरणार्थी’, ‘राधा’, ‘आधा बाटो’ लगायत ३२ कृति प्रकाशित छन् । झन्डै दुई दर्जन ग्रन्थका सम्पादक तथा लीला लेखनका व्याख्यातासमेत रहेका धरावासीले आख्यानमार्फत सामाजिक यथार्थ, मानवीय मनोविज्ञान, विभेद र इतिहासका उपेक्षित पक्षलाई उत्तरआधुनिक ढाँचामा प्रस्तुत गर्दै आएका छन्। यसैगरी, पद्मश्री गौरव पुरस्कार प्राडा जयराज आचार्यलाई प्रदान गर्ने निर्णय गरिएको छ । नेपाली, अङ्ग्रेजी र संस्कृत भाषाका ज्ञाता तथा परराष्ट्र नीति र कूटनीतिका अध्येता आचार्यले साहित्य, भाषाविज्ञान, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिसम्बन्धी दर्जनभन्दा बढी कृति लेखेका छन्। ‘यदुनाथ खनालः जीवनी र विचार’, ‘भानुभक्त आचार्यको रामायण नेपाली र अङ्ग्रेजीमा’ र ‘नेपालको परराष्ट्र नीतिः एक विमर्श’ उनका उल्लेखनीय कृतिमध्ये हुन्। संयुक्त राष्ट्रसङ्घमा नेपालका स्थायी प्रतिनिधिका रूपमा समेत कार्य गरिसकेका आचार्यले नेपाली भाषा, साहित्य र कूटनीतिक चिन्तनलाई अन्तर्राष्ट्रिय सन्दर्भसँग जोड्न योगदान पुर्याएको प्रतिष्ठानले जनाएको छ। तीनै पुरस्कार र सम्मानको राशि जनही तीन लाख रुपैयाँ तथा सम्मानपत्र रहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!