लन्डन । साउथ इस्ट रिजनल तमु धीं लन्डनले नेपालका बाढीपीडितका लागि ५ हजार २७२ पाउन्ड सहयोग गरेको छ ।
१ करोड १ हजार रुपैयाँ सहयोग घोषणा गरेको तमु धीं यूके केन्द्रलाई १७ सेप्टेम्बर २०२६ मा अध्यक्ष जुमकाजी गुरुङ र आमा समूह अध्यक्ष कमलादेवी गुरुङलाई सहयोग रकमको चेक हस्तान्तरण गरिएको हो ।
बाढीपीडितको सहयोगका लागि संकलित रकम तमु धीं यूके केन्द्रलाई अभिभावकका रूपमा विश्वास गर्दै सहयोग गरेको भन्दै तमु धीं यूकेले दक्षिण–पूर्वी क्षेत्रीय तमु धीं परिवारप्रति आभार व्यक्त गरेको छ। तमु धीं यूकेले विपद्को यस घडीमा दक्षिण–पूर्वी क्षेत्रीय तमु धींले देखाएको माया, सद्भाव, विश्वास, सहयोग, समर्पण र सामाजिक भावनाको उच्च प्रशंसा गरेको छ ।
सहयोग अभियानमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै दक्षिण–पूर्वी क्षेत्रीय तमु धींका अध्यक्ष शिवराम गुरुङसहित सम्पूर्ण तमु धीं परिवारलाई हार्दिक धन्यवाद तथा सम्मान व्यक्त गरिएको छ।
मानवीय सेवाका लागि गरिएको यस सहयोगले विपद्को समयमा समुदायबीचको एकता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई थप बलियो बनाएको तमु धीं यूकेले जनाएको छ। तमु धीं यूके अध्यक्षसहितको टोली राहत रकम लिएर यही २० सेप्टेम्बरमा नेपाल जाने तयारीमा छ ।










