लन्डन । बेलायतमा यही २६ सेप्टेम्बरमा हुने ‘काव्य–सन्ध्या’मा आठ जना कविहरुले आफ्ना सिर्जना वाचन गर्ने भएका छन् ।
साहित्य संगालोको आयोजना र साहित्यकार केदार संकेतको संयोजनमा हुने कार्यक्रममा एभरेस्ट टाइम्स यूकेका सम्पादक समेत रहेका साहित्यकार डा.दुत पुन ‘चिम्खोले काइँला’, डा. मूलीवीर राई, विजय हितान, आरएल श्रमजीवी, राज श्रेष्ठ, शशी थापा सुब्बा, डा. मुकुल दाहाल र जयालक्ष्मी राईलाई कविता वाचनका लागि छनोट गरिएको हो । अल्डरसटस्थित सुसी मोटोमा हुने कार्यक्रममा दिउँसो १:३० बजे चिया–खाजा र २ बजेबाट कविता वाचन कार्यक्रम सुरु गरिने आयोजकले जनाएको छ ।
कविहरूले आफ्नो तीन-तीनवटा कविता प्रस्तुत गर्ने चलन काव्य-सन्ध्यामा रहँदै आएको छ । उक्त कविताहरूपछि साहित्य सङ्गालो डटकम नामक साहित्यिक अनलाइनमा प्रकाशितसमेत गरिने छ ।
बेलायतमा नेपाली साहित्यको प्रवर्द्धन तथा स्रष्टाहरूलाई सिर्जना प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उद्देश्यले ‘साहित्य सङ्गालो’ परिवारको संयोजनमा तेस्रो शृङ्खलाअन्तर्गत ‘काव्य–सन्ध्या’ आयोजना हुने भएको छ ।
निर्धारित समयमा उपस्थित भई कार्यक्रम सफल बनाउन सहयोग गर्न आयोजकले सबैलाई आग्रह गरेको छ।
‘साहित्य सङ्गालो’ परिवारले बेलायतमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्दै साहित्यकारबीचको भेटघाट र सिर्जनात्मक आदानप्रदानलाई निरन्तरता दिँदै आएको छ ।






