लन्डन । बेलायतका लागि नेपाली राजदूतमा प्रस्तावित पूर्वप्रधानसेनापति गौरव शमशेर जंगबहादुर राणा नेपाली सेनामा चार दशकभन्दा बढी सेवा गरेका विशिष्ट सैन्य नेता तथा रणनीतिकारका रूपमा चिनिन्छन्। राणाले सन् २०१२ देखि २०१५ सम्म नेपाली सेनाको प्रधानसेनापतिका रूपमा नेतृत्व गरेका थिए। नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरणको महत्वपूर्ण समयमा सेनाको नेतृत्व गरेका उनले विस्तृत शान्ति सम्झौताअनुसार पूर्वमाओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्ने प्रक्रियाको निर्देशनसमेत दिएका थिए।
प्रधानसेनापतिका रूपमा उनले नेपाली सेनाको ‘१० वर्षे दीर्घकालीन योजना’ तथा ‘सैन्य सिद्धान्त २०१३’ कार्यान्वयनमा ल्याएका थिए। २०७२ सालको विनाशकारी भूकम्पपछि उनले नेपाली सेनाको उद्धार तथा राहत अभियान ‘अपरेशन संकट मोचन’ को नेतृत्व गरेका थिए। उक्त अभियानमा सहभागी १८ वटा विदेशी सैन्य टोलीसँगको समन्वयमा समेत उनको महत्वपूर्ण भूमिका रहेको थियो। यसअघि राणाले नेपाली सेनाको बलाधिकृत तथा युद्ध कार्य निर्देशनालयका महानिर्देशकको जिम्मेवारी सम्हालेका थिए।
उनले दक्षिण लेबनानमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत नेपालको युनिफिल शान्ति सेना बटालियनको कमान्डसमेत गरेका थिए। शैक्षिक रूपमा राणाले पाकिस्तानको कायद–ए–आजम विश्वविद्यालयबाट रक्षा तथा रणनीतिक अध्ययनमा स्नातकोत्तर तथा त्रिभुवन विश्वविद्यालयबाट इतिहास र राजनीतिशास्त्रमा स्नातक गरेका छन्। त्यसैगरी, उनी बेलायतको रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्ट, अमेरिकाको यूएस आर्मी कमान्ड एन्ड जनरल स्टाफ कलेज, फोर्ट लिभनवर्थ तथा पाकिस्तानको नेसनल डिफेन्स युनिभर्सिटीका स्नातक हुन्।
हाल कन्जर्भेसन एलायन्स नेपालका अध्यक्ष रहेका राणा अन्तर्राष्ट्रिय सुरक्षा तथा रणनीतिक मामिलामा समेत सक्रिय छन्। उनी हार्भर्ड विश्वविद्यालय, लन्डनस्थित इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्र्याटेजिक स्टडिज तथा संयुक्त राष्ट्रसंघको पहिलो डिफेन्स चीफ्स कन्फरेन्सलगायतका अन्तर्राष्ट्रिय मञ्चमा वक्ताका रूपमा सहभागी हुँदै आएका छन्। सरकारले उनलाई बेलायतका लागि नेपाली राजदूतमा सिफारिस गरेसँगै अब उनको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन हुनुपर्नेछ। त्यसपछि बेलायत सरकारबाट एग्रिमो प्राप्त भएपछि राष्ट्रपतिबाट औपचारिक रूपमा राजदूत नियुक्त हुने प्रक्रिया अघि बढ्नेछ।






