लन्डन । अन्तर्राष्ट्रिय नेपाली मञ्च यूकेको छैटौँ राष्ट्रिय अधिवेशन आगामी ३ अक्टोबर २०२६ मा लन्डनमा आयोजना हुने भएको छ।
अधिवेशन अल्डरसटस्थित ठमेल रेस्टुरेन्टमा हुने अधिवेशनमा नेपाली कम्युनिस्ट पार्टीका संगठन विभाग प्रमुख वर्षमान पुन ‘अनन्त’ प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ । पूर्वअर्थमन्त्री पुन २ अक्टोबरमा बेलायत आइपुग्नेछन् । नेपाली जनप्रगतिशील मञ्च यूके, प्रवासी नेपाली एकता मञ्च यूके र नेपाली समाज यूकेको समायोजनपछि संस्थाको नाम ‘अन्तर्राष्ट्रिय नेपाली मञ्च यूके’ राखिएको हो ।
अधिवेशनको खुला सत्रमा नेपालका विभिन्न राजनीतिक दलका बेलायतस्थित संगठनका प्रतिनिधिहरूलाई अतिथिका रूपमा आमन्त्रण गरिने भएको छ । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका विभिन्न तह तथा मोर्चामा आबद्ध नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई अधिवेशनमा सहभागी हुन आयोजकले आह्वान गरेको छ। मञ्चकी संयोजक विमला लिम्बूका अनुसार अधिवेशनबाट संस्थाको नयाँ नेतृत्व चयन गरिनेछ ।
अधिवेशनलाई लक्षित गर्दै मञ्चले सदस्यता नवीकरण तथा नयाँ सदस्यता लिनका लागि २० सेप्टेम्बर २०२६ सम्मको समयावधि तोकेको छ । पार्टीका कुनै पनि नेता तथा कार्यकर्ता अधिवेशनको प्रक्रियाबाट नछुटून् भन्ने उद्देश्यले सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण खुला गरिएको संयोजक लिम्बूले बताइन् । नेपालबाट हालै बेलायत पुगेका तथा मञ्चसँग सम्पर्कमा नरहेका नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई समेत सम्पर्कमा आउन मञ्चले आग्रह गरेको छ ।






