लन्डन, १९ सेप्टेम्बर २०२६ । बेलायतको अल्डरसटस्थित प्रिन्सेस हलमा गुरुङ चलचित्र ‘सैंर्बे म्रु’ (मनको राजा) प्रदर्शन गरिएको छ। खचाखच दर्शकको उपस्थितिबीच प्रदर्शन भएको यस चलचित्रले आम दर्शकको मन जित्दै अपार सफलता हात पारेको छ। विशेष प्रदर्शनमा चलचित्रका निर्माता तथा नायक अमृत गुरुङ र नायिका लक्ष्मी गुरुङको उपस्थिति रहेको थियो।
चलचित्र हेरेपछि ‘एभरेस्ट टाइम्स’सँग कुराकानी गर्दै दर्शकहरूले प्रतिक्रिया दिएका छन्, “कोही व्यक्ति घान्द्रुक गएको छैन भने पनि यो ‘सैंर्बे म्रु’ चलचित्र हेरेर मात्रै २५-३० प्रतिशत घान्द्रुक पुगेको महसुस गर्न सक्छ।”
ब्रेज मेश्रो फिल्म प्रोडक्सन, घान्द्रुकको ब्यानरमा लामा अमृत फाउन्डेसन, घान्द्रुकद्वारा निर्मित नेपाली भाषाको यस चलचित्रको छायांकन नेपालको कास्कीस्थित रमणीय घान्द्रुक गाउँ र त्यस आसपासका हिमाली भेगमा गरिएको हो। सुन्दर पर्यटकीय गाउँ घान्द्रुकको प्राकृतिक सौन्दर्य, गुरुङ संस्कृति, परम्परा र पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्यले यो चलचित्र निर्माण गरिएको हो। वर्तमान परिवेश, वास्तविक भूगोल, जीवनशैली र प्राकृतिक सौन्दर्यलाई जीवन्त रूपमा प्रस्तुत गर्दै यस चलचित्रले घान्द्रुकको पहिचानलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने महत्त्वपूर्ण प्रयास गरेको निर्माण पक्षले जनाएको छ।
घान्द्रुक समाज युकेका पूर्वअध्यक्ष नारायण गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा तमुधिँ युकेका अध्यक्ष जुमकाजी गुरुङ र आमा समूहकी अध्यक्ष कमलदेवी गुरुङ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमको सञ्चालन कार्यक्रम सचिव तथा संयोजक विमल गुरुङले गर्नुभएको थियो।







