लन्डन । रसुवालगायत बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि बेलायतमा संकलित ठूलो सहयोग रकम लिएर तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ नेतृत्वको टोली आइतबार साँझ नेपाल जाँदैछ ।
तमु धीं यूकेले बाढीपीडितका लागि १ करोड ११ लाख ११ हजार १११ रूपैयाँ सहयोग हस्तान्तरण गर्ने गरि टोली नेपाल जान लागेको हो । अध्यक्षसँगै उनकी श्रीमती तथा तमु धीं यूके आमा समूहकी अध्यक्ष कमला देवी गुरुङ, वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, उपाध्यक्ष तथा १७औँ नेपाली मेला संयोजक कमल कोने गुरुङ, महासचिव डा. विशाल गुरुङ, सचिव विमल गुरुङ नेपाल जाँदै छन् ।
तमु धीं यूकेले आयोजना गरेको १७औँ नेपाली मेलाबाट बचत भएको रकम, मेलाका क्रममा बाढीपीडितका लागि संकलन गरिएको सहयोग तथा बेलायतमा रहेका नेपाली समुदायबाट प्राप्त थप सहयोगलाई एकीकृत गरी नेपालका बाढीपीडितलाई हस्तान्तरण गर्न लागेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । तमु धीं यूकेले सुरुमा बाढीपीडितका लागि १ करोड १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो। अभियानमा थप रकम जुटेपछि उक्त सहयोग रकम बढाएर नेपालका बाढीपीडितलाई हस्तान्तरण गर्न लागिएको हो। सँगै २० लाख रूपैयाँको राहत पदाधिकारीको उपस्थितिमा बाढीग्रस्त क्षेत्रमा वितरण गरिने जनाइएको छ ।
तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले सुरुमा घोषणा गरिएको रकममा थप सहयोग जुटेकाले बढेको रकमसहित नेपाल आएर बाढीपीडितका लागि हस्तान्तरण गर्ने जानकारी दिए ।
तमु धीं यूकेले नेपाली मेलालाई नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनसँगै सामाजिक तथा मानवीय सेवासँग जोड्दै आएको छ। यस वर्ष बाढी तथा पहिरोबाट प्रभावित नेपालीका लागि सहयोग जुटाउने अभियानलाई समेत मेलासँग जोडिएको थियो।
मेलाबाट बचत हुने रकमसँगै मेलाका क्रममा संकलित सहयोग र बेलायतमा रहेका विभिन्न व्यक्ति, शाखा, आमा समूह तथा संघसंस्थाबाट प्राप्त रकमलाई बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि प्रयोग गर्ने उद्देश्य राखिएको छ।
बाढीपीडितका लागि सहयोग जुटाउने अभियानमा बेलायतस्थित नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको छ। विभिन्न संघसंस्था तथा व्यक्तिले सहयोग गरेका छन् भने तमु धीं यूकेका विभिन्न शाखा र आमा समूहले पनि अभियानमा योगदान दिएका छन्।
अध्यक्ष जुमकाजी गुरुङ नेतृत्वको टोलीले नेपाल पुगेपछि संकलित सहयोग रकम हस्तान्तरण गर्नुका साथै बाढी प्रभावित नागरिकको अवस्थाबारे जानकारी लिनेछ ।






