पोखरा । भोटेकोशी बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि तमु धीं नेपालले सञ्चालन गरेको राहत संकलन अभियानमा ७० लाख रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा तमु धीं नेपाल केन्द्रीय समितिको अध्यक्ष हुम बहादुर गुरुङले अभियान अन्तर्गत तमु धीं नेपालको कार्यसमिति, विभिन्न समिति, तमु समाज, संघसंस्था, भाइखलक तथा चेलीबेटी परिवार लगायतबाट हालसम्म ७० लाख ४७ हजार ४ सय ९७ रुपैयाँ ८८ पैसा संकलन भएको जानकारी गराए । उनले बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका तटीय क्षेत्रमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत संकलन अभियान सञ्चालन गरिएको बताए ।
तमु धीं नेपालका अनुसार संकलित राहत रकम सम्पूर्ण सहयोगीहरूको विवरण सहित प्रधानमन्त्री उद्धार राहत कोषमा भदौ ५ गते, सोमबार हस्तान्तरण गरिनेछ । यसका लागि तमु धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको नेतृत्वमा टोली काठमाडौं जाने तयारीमा रहेको छ । त्यसैगरी, राहत संकलन अभियानअन्तर्गत सहयोगदाताहरूको विवरण कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेको जनाइएको छ।
विपद्को समयमा संघ संस्था, नागरिक समाज तथा आम नागरिकको सहयोग आवश्यक रहेको भन्दै तमु धीं नेपालले राहत संकलन अभियानमा सहयोग गर्ने सम्पूर्ण राहतदाता तथा सहयोगीहरूप्रति आभार व्यक्त गरेको छ।






