बेलायत – तमु धीं युकेले भोटेकोशी बाढीपीडितका लागि नेपाली रुपैयाँ १ करोड ३१ लाख ११ हजार १ सय ११ संकलन गरेको एक पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।
उक्त पत्रकार सम्मेलन आइतबार, २० सेप्टेम्बर २०२६ का दिन तमु धीं युकेको आफ्नै भवन, मिचेटमा सम्पन्न भएको थियो।
कार्यक्रममा जानकारी गराइएअनुसार संकलित रकममध्ये १ करोड ११ लाख १ सय ११ रुपैयाँ सोझै नेपालको प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा हस्तान्तरण गरिनेछ भने बाँकी २० लाख रुपैयाँ प्रत्यक्ष रूपमा बाढीप्रभावित क्षेत्र रसुवामा वितरण गरिनेछ। तमु धीं युकेका अध्यक्ष जुमकाजी गुरुङले यो जानकारी दिनुभएको हो।
राहत रकम हस्तान्तरण तथा वितरण कार्यक्रममा अध्यक्ष जुमकाजी गुरुङ, वरिष्ठ उपाध्यक्ष परशुराम गुरुङ, उपाध्यक्ष कमल गुरुङ, महासचिव डा. विशाल गुरुङ, सचिव विमल गुरुङ र आमा समूहकी अध्यक्ष कमला देवी गुरुङको सहभागिता रहनेछ |
उक्त समुह आज बेलुकी नेपाल प्रस्थान गर्ने भएको हुँदा आजै तमु धीं भवनबाट बिदाइ गरिएको छ भने अध्यक्ष जुमकाजी गुरुङले उपाध्यक्ष दिलमाया गुरुङलाई कार्यवाहक अध्यक्ष सुम्पिएर नेपाल प्रस्थान गरेका छन्।
अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा भएको उक्त पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष परशुराम गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव डा. विशाल गुरुङले गर्नुभएको थियो। पत्रकार सम्मेलनमा एक दर्जनभन्दा बढी पत्रकारहरूको सहभागिता रहेको थियो।








