एकेन्द्र गुरुङ
एक पछि अर्को सिलसिलावर देखाउने चित्रहरुलाई चलचित्र भनिन्छ । अर्थात् चलचित्र भनेको थोरै दृश्यहरुले धेरै अर्थ बुझाउने, एउटै शब्दले धेरै अर्थ बुझाउने बिम्बहरुको प्रतिबिम्ब हो । जसले समाजलाई मनोरञ्जन दिन्छ, सुसज्जित गराउँछ, जागरुक बनाउँछ र ज्ञान र सीप प्रेषित गर्छ । तसर्थ चलचित्र सामाजिक रुपान्तरणको संवाहक हो र संस्कृति निर्माण र प्रवद्र्धनको संयन्त्र र प्रक्रिया हो । चलचित्र निर्माण गर्न सजिलो छैन । यसको निर्माण गर्दा निर्देशक र निर्माताहरुलाई विषयवस्तुको ज्ञान प्रविधिको चेत र समाजको भावनाको बोध हुनुपर्दछ ।
२००७ सालमा डि.वि. परियारले कलकत्तामा निर्माण गरेको ‘सत्य हरिश्चन्द्र’ पहिलो नेपाली चलचित्र हो (परियार २०४२) । २०१३ सालमा राजा महेन्द्रको राज्यभिषेकमा अमेरिकी चलचित्र निर्माता नोबेल थोमसले राज्यभिषेकको वृत्तचित्र र सर्च फर प्याराडाईज चलचित्र बनाएका थिए । २०१९ मा देहारादुनका हिरासिंह खत्रीलाई महेन्द्रले आफ्नो जन्मोत्सव र ‘विकासको बाटोमा नेपाल’ नामको वृत्तचित्र बनाउन लगाएका थिए (मैनाली २०६१, ३) । २०२२ सालमा तत्कालीन निर्देशन मन्त्रालयको प्रचारप्रसार विभागले निर्माण गरेको चलचित्र ‘आमा’ नेपालमा बनेको पहिलो चलचित्र हो ।
यो चलचित्र पनि राजा महेन्द्रले नै बनाउन लगाएको थियो । यसरी वि.सं. २००७ बाट सुरु भएको नेपाली चलचित्रको इतिहास हालसम्म आइपुग्दा अनगिन्ती चलचित्रको निर्माण भइसकेको छ । तापनि अधिकांश नेपाली चलचित्र हिन्दी चलचित्रकै नक्कल गर्ने र यसैको सेरोफेरोमा अल्मलिरहेको विज्ञहरु बताउँछन् । प्रजातन्त्रको पुनर्बहाली पाई जनजातिहरुले पनि आफ्नो मातृभाषामा चलचित्र निर्माण गर्न थाले । मूलधारको सञ्चारमा ठाउँ नपाइरहेका आफ्नो जातीय तथा सांस्कृतिक धरोहर तथा बिम्बहरुलाई चलचित्रको माध्यमबाट सशक्त रुपमा प्रस्तुत गरेर आफ्नो पहिचान स्थापित गराउन थाले । यही कारणले गर्दा मातृभाषी चलचित्र निर्माण अभियान नै सुरु भयो । नेपाली चलचित्रले एउटा समूहको मात्रै सांस्कृतिक परिवेशलाई चित्रण गरेको छ ।
नेपालको बद्लिँदो राजनैतिक, सांस्कृतिक परिदृश्यमा सबैले आफ्नो छुट्टै पहिचानको अपेक्षा गरेको अवस्थामा चलचित्रमार्फत आफ्नो भाषा, संस्कृतिलाई स्थापित गर्ने उद्देश्यले विभिन्न मातृभाषामा चलचित्र गर्न थालेको हो । बिक्रम सम्वत् २०४४ मा निर्माण गरिएको नेवारी चलचित्र ‘शिलु’ नै प्रथम मातृभाषि चलचित्र हो । २०४६ सालमा पूर्बेली थारु भाषामा ‘करम’ निर्माण भयो । २०५२ सालमा मगर भाषामा ‘लहान’, तामाङ भाषामा ‘सेमरी छोरङान’ र गुरुङ भाषामा पाते (माइली) बनेको थियो । यस्को श्रेय प्रितम गुरुङलाई जान्छ । २०५२ सालमै पोखराबाट स्व. मिनबहादुर गुरुङ र लोकबहादुर गुरुङको प्रयासमा ‘न्हाम्स्यो न्होरी’ (कुहिरो चित्र) निर्माण भएको थियो । यी सबै चलचित्र निजी लागनीमा बनाइएका हुन् । नयाँ अवसरको खोजीमा मानिसहरु आफ्नो थातथलो छाडेर सुविधा सम्पन्न ठाउँमा बसाइँ सर्न थाले । गुरुङ पनि बसाइँ सर्ने प्रक्रियाबाट अछुतो रहेन ।
नयाँ ठाउँमा बसाइँ सर्दा गुरुङहरुको भाषा, संस्कार र संस्कृति लोपोन्मुख अवस्थामा रहेको छ । भाषा, संस्कार शास्त्रीअनुसार भाषा, संस्कार र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न चलचित्र सशक्त माध्यम हो । अर्थात् साहित्य, कला तथा चलचित्रको माध्यमबाट भाषा र संस्कृतिलाई जोगाउन सकिन्छ । आफ्नो भाषा र संस्कृतिलाई राष्ट्रिय पहिचानको अवधारणाभित्र स्थापित गराउन पनि आफ्नो मातृभाषामा चलचित्र निर्माण गर्न थालेको हो । चलचित्र निर्माण आफ्नो भाषा, कला र संस्कृतिलाई नयाँ पुस्तालाई हस्तान्तरण गर्न सजिलो उपाय पनि हो । तसर्थ सीमित बजारको बाबजुद पनि गुरुङ भाषी धेरै चलचित्रहरु निर्माण भएका हुन् । पाते (माइली) र न्हाम्स्यो न्होरी (कुहिरो भित्र) २०५२ बाट सुरु भएको गुरुङ भाषी चलचित्र आजसम्म १२८ वटा निर्माण भइसकेका छन् (जिफान) ।
संभवतः जनजातिहरुमा सबैभन्दा धेरै मातृभाषी चलचित्र गुरुङ भाषामा निर्माण भएको छ । २०५२ सालबाट सुरु भएको गुरुङ भाषी चलचित्र एक वर्षमा सरदर ९÷१० वटासम्म निर्माण हुन्छ । गाउँ सहर, घरदेश परदेश सबै ठाउँमा गुरुङभाषी चलचित्र निर्माणमा प्रतिस्पर्धा नै भइरहेको छ । आफ्नो भाषा, भेषभुषा, कला र संस्कृतिको संरक्षण र उत्थान गर्नका लागि चलचित्र निर्माणमा लागेको बुझिन्छ । गुरुङ चलचित्र निर्माण गर्दा गुरुङ संस्कृतिमा आधारित नेपाली भाषामा पनि चलचित्र निर्माण गरिरहेका छन् । नेपाली भाषामा चलचित्र बनाउँछन् र गुरुङ फिल्म एसोसिएसनमा दर्ता गराउँछन् ।
गुरुङ फिल्म एसोसिएसन (जिफान) गुरुङ चलचित्र संरक्षण र प्रवद्र्धन गर्ने साथै व्यवस्थित र मर्यादित बनाउन स्थापित भएको संस्था हो । २०६४ सालमा स्थापना भएको ‘जिफान’ गुरुङ चलचित्रकर्मीहरुको साझा संस्था हो । चलचित्र निर्माणमा दृश्यले भेषभूषाले सतही र हल्का अलकारिता मात्र दिन्छ । विषयवस्तु, कथा र तर्कले चलचित्रको संरचनाको रुप दिन्छ । अभिनय, गीत, संगीत र दृश्यले चलचित्रलाई आत्मा दिन्छ । आत्माले प्राण भर्छ । दर्शकले नजरबाट नसा नसामा समाहित बनाउँछ । चलचित्रमा कलाको संरचना भन्दा स्थानीयतालाई मुख्य आधार मानिन्छ । चलचित्रको भाषामा स्थानीयता भनेको सामाजिक यथार्थ हो । गुरुङ भाषा संस्कृतिमा धेरै स्थानीयता पाइन्छ ।
रोधीं र रोधींसँग सम्बन्धित बिम्बहरु स्थानीयताको आधार र स्रोतहरु हुन् । गुरुङ भाषा र संस्कृतिको सही व्याख्या प्रयोग र व्यवस्थापन नभएमा गलत विषयहरु सम्प्रेषण हुन्छ । परिणाम समुदायमा विकृति र विसंगतिको सन्देश प्रवाह हुन्छ । समाज विभाजित र विखण्डित हुने संभावना हुन्छ । यसबाट प्रस्ट हुन्छ गुरुङ चलचित्र गुरुङ भाषामा नै निर्माण भयो भने स्थानीयताको भरपूर प्रयोग हुन्छ । गुरुङ भाषाको बिम्बहरु नेपाली भाषामा मेल नखान पनि सक्छ । गुरुङहरुको आफ्नै खालको भाषा, साहित्य र सांकृतिक परम्परा छ । हाम्रो आफ्नो मौलिक गीत छ । गायन छ, भाका र लय छ ।
वाद्यवादन छ, सांगीतिक धुन छ, परम्परागत नृत्य र नृत्य शैली छ । आफ्नै विशिष्ट भूगोल छ । यसको संयोजनबाट निर्माण भएको कला नै मौलिक र वैज्ञानिक कला हो । जुन चलचित्र निर्माणको अचुक सुत्र हो ।
यसको प्रयोग एरिक भ्यालीले ‘क्यारभान’ निर्माणमा गरेको थियो । ‘क्यारभान’ ले एरिक भ्यालीलाई संसारभर चिनायो । नायक थिन्ले साधारण पात्रमा मात्रै सीमित बनायो । गुरुङ भाषामा धेरै चलचित्र निर्माण हुनुमा गुरुङहरु आफ्नो भाषा संस्कार, संस्कृतिको र संरक्षण र प्रवद्र्धन गर्नुपर्छ भन्ने चेतनाले गर्दा हो । गुरुङहरु बसाइँ सरेर पोखरा, चितवन, काठमाडौं र बाहिर जापान, हङकङ, अस्ट्रेलिया, यूके, अमेरिका, युरोप, खाडीमूलक, मलेसिया, भारत जहाँ बसे पनि मातृभाषाको चलचित्रमा आफ्नो गाउँ, ठाउँ, भाषा र संस्कृतिसँग साक्षात्कार हुने हुँदा असिम सन्तुष्टि प्राप्त गर्छन् ।
डायस्पोराका गुरुङहरु भाषा, कला र संस्कृति संरक्षण र प्रवद्र्धन गर्ने जिम्मेवारी आफ्नो पनि सम्झन्छन् । त्यसैले चलचित्र निर्माण गर्छन्, अरुले बनाएको चलचित्रलाई सहयोग गर्ने कोसिसा गर्छन् । यसरी सबैले आफ्नो क्षेत्रबाट साथ र सहयोग पु¥याएकोले प्रत्येक वर्ष ९÷१० वटा चलचित्र निर्माण गर्न सफल भएको हो । फलस्वरुप गुरुङ जातीय र सांस्कृतिक पहिचानमा सहयोग पुगेको छ । भाषा, कला, साहित्य र संस्कृति प्रवद्र्धन भएको छ । यस्का लागि चलचित्र निर्माणमा अहम् भूमिका खेल्नु हुने सबै धन्यवादका पात्र हुन् ।
उहाँहरु हुनुहुन्छ प्रितम गुरुङ, स्व. मिनबहादुर गुरुङ (डाँफे कला), स्व. लोकबहादुर गुरुङ, गोरे गुरुङ, केसबहादुर गुरुङ, सुवास गुरुङ, भोजबहादुर गुरुङ, करण गुरुङ, बेदबहादुर गुरुङ (श्याम), माओत्से गुरुङ, कृष्णकुमार गुरुङ, पृथ्वीमान गुरुङ, खुसबहादुर गुरुङ, सुनिता गुरुङ, बलबहादुर गुरुङ, मनोज गुरुङ, लिलबहादुर गुरुङ, युग गुरुङ, गुञ्जबहादुर गुरुङ, मनोज गुरुङ, जितमान गुरुङ, जसु गुरुङ, दिपेस गुरुङ, जनक गुरुङ, उमानसिं गुरुङ, नौजंङ्ग गुरुङ, ओमप्रकाश गुरुङ (जिफान), यस अलावा निर्माताहरु, गीतकार, संगीतकार, कलाकार सबैलाई सम्झनु पर्नेहुन्छ । संसारभरका दर्शकहरु, शुभचिन्तकहरु सबैलाई सम्मान व्यक्त गर्नुपर्छ जसले गुरुङ चलचित्रलाई माया र साथ दिनुभयो ।






