लन्डन । नेपालका पूर्वअर्थमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संगठन विभाग प्रमुख वर्षमान पुन अक्टोबर २ मा बेलायत आउने भएका छन् ।
अन्तर्राष्ट्रिय नेपाली मञ्च यूकेको छैटौँ राष्ट्रिय अधिवेशनमा सहभागी हुन पुन अक्टोबर २ मा पोर्चुगलबाट सिधै बेलायत आउने निश्चित भएको अन्तर्राष्ट्रिय नेपाली मञ्च यूकेका सचिव विश्वास दीप तिगेलाले जानकारी दिएका छन् । मञ्चको छैटौँ राष्ट्रिय अधिवेशन आगामी अक्टोबर ३ मा अल्डरसटस्थित ठमेल रेस्टुरेन्टमा आयोजना हुँदैछ।
नेपाली जनप्रगतिशील मञ्च यूके, प्रवासी नेपाली एकता मञ्च यूके र नेपाली समाज यूकेको समायोजनपछि संस्थाको नाम ‘अन्तर्राष्ट्रिय नेपाली मञ्च यूके’ राखिएको हो। मञ्चकी संयोजक बिमला लिम्बुका अनुसार अधिवेशनको तयारी भइरहेको छ । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ। अधिवेशनमा नेपाली कम्युनिस्ट पार्टीका विभिन्न तह तथा मोर्चामा आबद्ध नेता, कार्यकर्ता एवं शुभेच्छुकलाई सहभागी हुन अपिल गरिएको छ।






