तमु धीं यूकेसँग रवि लामिछानेले भने – ‘विदेशमा रहेका नेपाली नेपालका लागि भरोसा हुन्’

SHARE:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विदेशमा रहेका नेपालीहरू देशका लागि महत्वपूर्ण भरोसा भएको बताएका छन् ।

तमु धीं यूकेले नेपालमा आएको विपद्का बेला गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै लामिछानेले विदेशमा रहेर पनि नेपालीहरूले देशलाई दुःख पर्दा साथ दिँदै आएको बताए।

“तपाईंहरूजस्ता साथीहरूले देशभन्दा बाहिर रहेर पनि देशलाई जहिल्यै दुःख पर्दा सँगै साथ दिनुभएको छ। तपाईंहरू हाम्रा लागि भरोसा पनि हुनुहुन्छ,” उनले भने।

लामिछानेले विदेशमा बस्ने नेपालीहरू नेपालको राजनीतिक क्षेत्रका लागि मात्रै नभई कला, साहित्य र संस्कृतिका लागि समेत भरोसा भएको बताए। विशेषगरी बेलायतमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीको योगदान निकै ठूलो रहेको उनको भनाइ थियो।

तमु धीं यूकेले अहिलेको आपत्का बेला गरेको सहयोगप्रति पार्टीको तर्फबाट धन्यवाद दिँदै उनले विदेशमा रहेका नेपालीसँगको सहकार्यलाई निरन्तरता दिने बताए।

तमु धीं यूकेको टोलीले मंगलबार सभापति लामिछानेलाई भेटेको हो । भेटमा सांसद बिना गुरुङ,  तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, उपाध्यक्ष कमल गुरुङ, महासचिव डा. विशाल गुरुङ तथा आमा समूहकी अध्यक्ष कमला देवी गुरुङलगायत उपस्थित थिए ।

रवि लामिछानेको भनाइ जस्ताको तस्तै
तमु धीं यूकेलाई धेरै–धेरै धन्यवाद। तपाईंहरूको गतिविधिका बारेमा यति डिटेलमा नभए पनि केही थाहा छ। म बेलायत जाँदाखेरि पनि भेटघाट भइरहने साथीभाइ हुनुहुन्छ। तपाईंहरू हाम्रा शुभचिन्तक हुनुहुन्छ। हाम्रा शुभचिन्तकहरू पनि तपाईंसँगै हुनुहुन्छ। त्यसैले तपाईंहरूले दिनुभएको कुर्बानीका लागि म धेरै–धेरै धन्यवाद दिन चाहन्छु। यो निरन्तर रहोस्।

तपाईंहरूजस्ता साथीहरूले देशभन्दा बाहिर रहेर पनि देशलाई जहिल्यै दुःख पर्दा सँगै साथ दिनुभएको छ। तपाईंहरू हाम्रा लागि भरोसा पनि हुनुहुन्छ। विदेशमा बस्ने नेपालीहरू नेपालको राजनीतिक क्षेत्रका लागि मात्रै होइन, कला, साहित्य र संस्कृतिका लागि पनि भरोसा हुनुहुन्छ। अझ बेलायतमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको निकै ठूलो योगदान छ।

तमु धीं यूकेलाई यहाँहरूले गर्नुभएको सम्पूर्ण योगदानका लागि धन्यवाद दिन्छु। अहिलेको आपतमा पनि तपाईंहरूले गर्नुभएको सहयोगका लागि पार्टीको तर्फबाट धेरै–धेरै धन्यवाद दिन चाहन्छु।

हामी तपाईंहरूसँग सहकार्य गर्दै अघि बढ्नेछौँ। तपाईंहरूका पनि मुद्दा छन्, हाम्रा पनि मुद्दा छन्। ती साझा मुद्दामा हामीले काम गर्नुपर्नेछ।

अहिले बेलायतका लागि राजदूत नियुक्तिका लागि छनोट हुनुभएको छ। सायद उहाँ टीओआर लिएर जाँदै हुनुहुन्छ। त्यहाँ रहेका नेपालीहरूका मुद्दामा हाम्रा प्राथमिकताहरू छन्। हामीले सरकारको वाचापत्रमा पनि भनेका छौँ। पार्टीले के भनेको छ भन्ने कुरा तपाईंहरूले थाहा पाउनुभएको छ।

मलाई विश्वास छ, तपाईंहरूका माग र मुद्दामा पनि सकारात्मक रूपमा अगाडि बढ्दै जानेछौँ।

फेरि पनि यहाँहरू सबैलाई देशलाई निरन्तर माया गर्नुभएकोमा र देशलाई दुःख पर्दा साथ दिनुभएकोमा धन्यवाद दिन चाहन्छु ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!