तमु धीं यूकेले दियो नेपालका बाढीपीडितका लागि १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

SHARE:

काठमाडौं । तमु धीं यूकेले नेपालका बाढीपीडितका लागि बेलायतमा संकलन गरेको १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ राहत सहयोग हस्तान्तरण गरेको छ । तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ नेतृत्वको टोलीले मंगलबार कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेको हो ।

महासचिव डा. विशाल गुरुङका अनुसार उक्त रकम मंगलबार नै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको छ । चेक हस्तान्तरणका लागि अध्यक्ष जुमकाजी गुरुङसँगै वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, उपाध्यक्ष कमल गुरुङ, महासचिव डा. विशाल गुरुङ, सचिव विमल गुरुङ, आमा समूह अध्यक्ष कमलादेवी गुरुङलगायतको टोली अर्थ मन्त्रालय पुगेको थियो ।

राहत रकम हस्तान्तरण गर्न अध्यक्ष जुमकाजी गुरुङसहित तमु धीं यूकेका ६ जनाको टोली आफ्नै व्यक्तिगत खर्चमा सोमबार बेलायतबाट नेपाल आएको थियो । तमु धीं यूकेका सचिव विमल गुरुङका अनुसार बेलायतमा संकलित रकममध्ये करिब २५ लाख रुपैयाँ बराबरको राहत सामग्री समेत प्रभावित क्षेत्रमा पुगेर बाढीपीडितलाई वितरण गर्ने तयारी भइरहेको छ ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा महासचिव डा. विशाल गुरुङले सन् २००० मा बेलायतमा स्थापना भएको तमु धीं यूकेले महाभूकम्प, कोभिड महामारीलगायतका विपद्का समयमा तथा परोपकारी क्षेत्रमा गर्दै आएको सहयोगबारे जानकारी गराएका थिए ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्का समयमा तमु धीं यूकेले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै वर्तमान सरकारप्रति भरोसा गरेर १६ अर्ब रुपैयाँ राहत रकम संकलन भएको जानकारी दिए । उनका अनुसार हालसम्म १ अर्ब रुपैयाँ निकासा भइसकेको छ ।

मन्त्री वाग्लेले दसैंअघि नै सबै बाढीपीडितका लागि अस्थायी टहरा निर्माण गर्ने तयारी रहेको बताए । उनका अनुसार प्रभावित परिवारले आफूले चाहेको स्थानमा बस्न सक्ने गरी प्रति परिवार १७ हजार रुपैयाँ सहयोग उपलब्ध गराइनेछ ।

स्थायी आवास निर्माणका लागि भने साढे दुई वर्षभित्र सबै पीडित परिवारका लागि घर निर्माण गर्ने योजना रहेको उनले बताए ।

तमु धीं यूकेले बेलायतमा भदौ १४ (अगस्ट ३०) मा आयोजित १७औँ नेपाली मेलाको दिनदेखि बाढीपीडितका लागि सहयोग रकम संकलन सुरु गरेको थियो । नेपालमा भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकको राहतका लागि उक्त रकम संकलन गरिएको हो ।

नेपाली मेला संयोजक कमल गुरुङका अनुसार मेलाबाट बचत भएको रकम, तमु धीं यूकेको संस्थागत सहयोग, च्यारिटी ट्रेल वाक, तमु धीं आमा समूह, विभिन्न इकाइ तथा व्यक्तिगत सहयोगबाट रकम संकलन गरिएको हो ।

राहत रकम हस्तान्तरण कार्यक्रममा कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र तमु धीं यूके अध्यक्ष जुमकाजी गुरुङसहितको टोलीले बाढीपीडितका लागि सहयोग जुटाउने बेलायतवासी नेपालीप्रति आभार व्यक्त गरेका छन् ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!