काठमाडौं । तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङको नेतृत्वमा बाढीपहिरो प्रभावितका लागि राहत सामग्रीसहितको टोली बुधबार रसुवातर्फ प्रस्थान गरेको छ।
भाटभटेनी सुपरमार्केटबाट आवश्यक राहत सामग्री खरिद गरी टोली प्रभावित क्षेत्रमा गएको हो । टोलीमा वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, उपाध्यक्ष कमल कोने गुरुङ, महासचिव डा.विशाल गुरुङ, सचिव विमल गुरुङ, आमा समूह अध्यक्ष कमलादेवी गुरुङलगायत छन्। साथमा व्यवसायी विजय गुरुङ, पत्रकार डण्ड गुरुङ पनि छन् ।
तमु धीं यूकेले मंगलबार नै बाढीपीडितका लागि संकलित रकममध्ये १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिसकेको छ। संकलित रकममध्ये करिब २५ लाख रुपैयाँ बराबरको राहत सामग्री प्रभावित क्षेत्रमा वितरण गर्ने तयारी गरिएको सचिव विमल गुरुङले जानकारी दिए । अध्यक्ष गुरुङले ३ सय ८ परिवारलाई राहत बाँड्ने तयारी रहेको बताए ।
तमु धीं यूकेले नेपाली मेलाबाट बचत भएको रकम, संस्थागत सहयोग, च्यारिटी ट्रेल वाक, आमा समूह, विभिन्न इकाई तथा व्यक्तिगत सहयोगबाट राहत रकम संकलन गरेको जनाएको छ ।










