लन्डन । बेलायतीवासी सिर्जना गुरुङ ठूलो पर्दाको सिनेमामा देखिएकी छन् । भर्खरै टिजर सार्वजनिक भएको रामबाबु गुरुङको चलचित्र कबड्डी ५ मा दयाहाङ राईलगायतसँग मिस यूके नेपाल २०१७ की विजेता सिर्जना गुरुङले अभिनय गरेकी हुन् । उक्त चलचित्रको टिजर सार्वजनिक भइसकेको छ ।
हङकङमा जन्मिएकी सिर्जनाले विभिन्न नेपाली कलाकारहरुको म्युजिक भिडियोमा अभिनयसमेत गरिसकेकी छन् ।

सिर्जना गुरुङ बेलायतमा युवा समाजसेवी तथा कलाकारका रुपमा परिचित छिन् । उनले बुबा पूर्वब्रिटिस आर्मी भएकोले नेपाल र गोर्खा चिल्ड्रेन स्कुलबाट शिक्षा अघि बढाइन् । बेलायतमा सन् २०१५ मा बायोमेडिकल साइन्स विथ प्रोफेसनल एक्सपेरेन्समा ब्याचलर पूरा गरिन् । एक दशकदेखि क्रिनिकल रिसर्ज फिल्डमा काम गर्दै आएकी छन् ।
सिर्जनामा सानैदेखि नेपाल र नेपालीलाई केही गरौं भन्ने भावना जागृत भएको थियो । समाजमा घुममिल हुन मन लाग्ने र स्टेज पर्फम गर्दै आएले बेलायतका विभिन्न कार्यक्रममा उद्घोषण गर्छिन् । साथै यूकेमा विभिन्न संघसंस्था र व्यवसायमा संलग्न छिन् उनी ।
तमु प्ये ल्हु संघ युकेकी युथ एम्बास्डर सिर्जना युवाहरुलाई आफ्नो संस्कृतिबारेको ज्ञान फैलाउने, उनीहरुलाई अगाडि बढाउन उत्प्रेरित गराइरहेकी छन् । पैंयूखोला तमु समाज युकेको स्वयम्सेवी युवाको रुपमै काम गरेकी उनी आफूले सक्दो र भ्याउँदा योगदान दिनेमा प्रतिबद्ध छिन् ।
आफ्नो संस्कृति, परम्परा र मौलिकता लोभ नहोस् र बेलायत बसे पनि नेपाल र नेपाली संस्कृतिलाई सम्झिरहने र पूजिरहने, नभूलोस् भन्ने विषयमा उनले युवाहरुमा जागरण फैलाउने काम गर्दै आएकी छन् ।

नेपाल जाँदा पनि उनले विभिन्न प्रोजेक्ट लाने गरेकी छन् । सन् २०१७ बिउटी विथ अ प्रपोज’ च्यारिटी कार्यक्रम आयोजना गरेर त्यहाँबाट संकलित ३ लाख ४९ हजार रकम ब्लाइन्ड रक्सकी सृष्टी केसीलाई हस्तान्तरण गरेकी थिइन् । मिस यूके नेपाल २०१७ की उपाधि विजेता सिर्जनाले पर्वत बच्छास्थित जनविकास निम्न माध्यमिक विद्यालयमा आफ्नै कमाइको रकमबाट विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिन् भने बेलायतमै पनि ब्रिटिस हर्ट फाउन्डेसनको लागि स्काईड्राइभ गरेर सन् २०१८ मा ५ सय २४ उठाइन् ।
क्यान्सर लागेका बालबालिकाहरुको सहयोगार्थ २०२४ को अप्रिल महिनाभर हरेक दिन १० हजार स्टेपस् वकिङ गरेर क्यान्डरलाइटर्स (च्यारिटी अर्गनाइजेसन इन योर्क फर क्यान्सर चिल्ड्रेन)का लागि १८५ पाउन्ड सहयोग संकलन गरिन् ।






