रसुवा–भोटेकोशीका बाढीपहिरो पीडितलाई एनआरएनए यूकेको राहत, ४७ परिवारलाई सहयोग गरिँदै

SHARE:

लन्डन । नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारको सहयोगका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले सञ्चालन गरेको मानवीय राहत अभियानअन्तर्गत रसुवा तथा भोटेकोशी क्षेत्रका प्रभावित परिवारलाई प्रत्यक्ष राहत वितरण गर्ने भएको छ।

एनआरएनए यूकेका अनुसार सोमबार, २८ सेप्टेम्बर २०२६ मा रसुवा तथा भोटेकोशी क्षेत्र, विशेषगरी विदुर नगरपालिका–५ का बाढीपहिरो प्रभावित परिवारलाई राहत सामग्री तथा आर्थिक सहयोग उपलब्ध गराइनेछ।

राहत टोलीले अति प्रभावित तथा जोखिममा रहेका परिवारलाई अत्यावश्यक राहत सामग्री, खाद्यान्न, स्वच्छ खानेपानी, स्वास्थ्य तथा चिकित्सा सामग्री, न्यानो लत्ताकपडा तथा आर्थिक सहयोग उपलब्ध गराउने जनाएको छ।

हालसम्म ४७ अति प्रभावित तथा जोखिममा रहेका परिवारका करिब १८० जनालाई तत्काल राहत तथा अस्थायी आवास सहयोग आवश्यक रहेको पहिचान गरिएको एनआरएनए यूकेले जनाएको छ। प्राप्त विवरणअनुसार ४५ जना अझै बेपत्ता रहेका छन्।

सहयोगका लागि पहिचान गरिएका ४७ प्रभावित परिवारको नामावली हेर्न यहाँ क्लिक गर्नुहोस्: ४७ प्रभावित परिवारको नामावली

£६,०६० सहयोग संकलन

एनआरएनए यूकेका अनुसार राहत अभियानका लागि हालसम्म GoFundMe, विभिन्न संघसंस्था तथा व्यक्तिगत सहयोगदातामार्फत £६,०६० संकलन भएको छ। उक्त रकम करिब १२ लाख नेपाली रुपैयाँ बराबर हो।

हालसम्म सहयोग गर्नेहरूको विवरण:

* एनआरएनए यूके GoFundMe तथा व्यक्तिगत सहयोग — £३,०००
* बुद्धि गाहा मगर, अध्यक्ष, गाहा मगर परिवार यूके — £१,०५०
* MAUK (UHSB) शाखा–पितृ पूजा कोष यूके / ओमप्रसाद थापा काउचा, अध्यक्ष, NRNA Gurkha Task Force — £१,०००
* MAUK (UHSB Ladies Community UK) — £५००
* काउचा परिवार यूके — £३६०
* श्रीमती पार्वती काउचा — £५०
* ओसिन काउचा — £५०
* थमन राना — £५०

संकलित रकम विशेषगरी प्रभावित तथा जोखिममा रहेका परिवारलाई न्यानो लत्ताकपडा र प्रत्यक्ष आर्थिक सहयोग उपलब्ध गराउन प्रयोग गरिने एनआरएनए यूकेले जनाएको छ।

राहत वितरणअघि प्राप्त हुने थप सहयोगलाई समेत अभियानमा समावेश गरी प्रभावित परिवारसम्म पुर्‍याइने जनाइएको छ। एनआरएनए यूकेले अभियानमा सहयोग गर्न चाहने संघसंस्था, समुदाय तथा व्यक्तिगत सहयोगदातालाई समेत सहयोगका लागि आह्वान गरेको छ।

एनआरएनए यूकेले आफूलाई विश्वासका साथ उपलब्ध गराइएको प्रत्येक सहयोग पारदर्शिता र जवाफदेहिताका साथ वास्तविक आवश्यकता भएका परिवारसम्म पुर्‍याउने प्रतिबद्धता जनाएको छ। राहत वितरणका क्रममा प्रभावित समुदायसँग प्रत्यक्ष समन्वय गरी आवश्यकताका आधारमा सहयोग उपलब्ध गराइने बताइएको छ।

आपत्कालीन आवासका लागि अन्तर्राष्ट्रिय निकायसँग समन्वय

बाढीपहिरोबाट प्रभावित परिवारका लागि आपत्कालीन आवास तथा बलियो टेन्टको व्यवस्था गर्न एनआरएनए यूकेले *FCDO, ब्रिटिश दूतावास काठमाडौं, संयुक्त राष्ट्रसंघ (UN), IFRC तथा स्थानीय साझेदारहरूसँग समन्वय गरिरहेको जनाएको छ।

एनआरएनए यूकेले यस विपद्को समयमा प्रभावित परिवारप्रति देखाइएको उदारता, एकता, मानवीय भावना तथा निरन्तर सहयोगका लागि सम्पूर्ण संघसंस्था, समुदायका अगुवा, सहयोगदाता तथा व्यक्तिगत दाताप्रति धन्यवाद व्यक्त गरेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!