रसुवा । रातको समयको समेत पर्वाह नगरी तमु धीं यूकेको टोलीले रसुवाको उत्तरगया गाउँपालिका–१ का बाढी तथा पहिरो प्रभावित ३०८ परिवारलाई राहत सामग्री वितरण गरेको छ।
तमु धीं यूकेको टोली प्रभावित बस्तीमै पुगेर स्थानीय परिवारलाई तत्काल आवश्यक राहत सामग्री हस्तान्तरण गरेको हो। विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले भाटभटेनी सुपरमार्केटबाट आवश्यक राहत सामग्री खरिद गरी टोली रसुवा पुगेको थियो।

राति अबेरसम्म पनि राहत वितरणलाई निरन्तरता दिँदै टोलीले उत्तरगया गाउँपालिका–१ का ३०८ प्रभावित परिवारलाई राहत सामग्री उपलब्ध गराएको हो। प्रभावित परिवारलाई आवश्यक सामग्री हस्तान्तरण गर्दै तमु धीं यूकेले विपद्मा परेका नागरिकप्रति आफ्नो सहयोग र ऐक्यबद्धता जनाएको छ।
राहत वितरण टोलीमा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरूङ, वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, उपाध्यक्ष कमल कोने गुरुङ, महासचिव डा. विशाल गुरुङ, सचिव विमल गुरुङ र आमा समूहकी अध्यक्ष कमलादेवी गुरुङलगायत सहभागी थिए। टोलीसँगै व्यवसायी विजय गुरुङ, पत्रकार डण्ड गुरुङ, आश गुरूङ पनि रसुवा पुगेका थिए।







