काठमाडौँ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले नेपाल सरकारबाट बेलायतसहित विभिन्न १३ देशका लागि सिफारिस भएका प्रस्तावित राजदूतहरूको दशैँअघि नै सुनुवाइ टुङ्ग्याउने गरी प्रक्रिया अघि बढाएको छ ।
समितिको आज बसेको बैठकले प्रस्तावित राजदूतहरूको सुनुवाइको प्रक्रिया सुरु गर्दै १० दिनको समय दिई उजुरी आह्वान गर्ने निर्णय गरेको हो । समितिका सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित राजदूतहरूको बायोडाटा अध्ययन, उनहहरूले पेस गर्ने कार्ययोजना र प्राप्त उजुरीलाई मुख्य आधार बनाई सुनुवाइ अघि बढाइने बताए । उनका अनुसार प्रस्तावित राजदूतहरूको बायोडाटा समितिमा प्राप्त भइसकेकाले त्यसको अध्ययन तत्काल अघि बढाउन सकिनेछ । त्यस्तै, उनीहरूले पेस गर्ने नतिजामा आधारित कार्ययोजनाको अध्ययन पनि उजुरीको समयावधिसँगै अघि बढाउन सकिने सभापति श्रेष्ठले बताए ।
उनले उजुरीबाहेक समितिले गर्नुपर्ने तयारीका कामलाई अघि बढाउँदै सुनुवाइ प्रक्रिया सकेसम्म छिटो टुङ्ग्याउने तयारी रहेको बताए । यही असोज २ गते बसेको मन्त्रिपरिषद्को बैठकले बेलायत, भारत, चीन र संयुक्त राज्य अमेरिकासहित १३ देशमा राजदूत सिफारिस गरेको थियो ।






