नेपालका गृहमन्त्री सुधन गुरुङलाई तमु समाज युकेको विशेष सम्मान

SHARE:

लन्डन । तमु समाज युकेले नेपालका गृहमन्त्री सुधन गुरुङलाई विशेष सम्मान गरेको छ। बाढीपीडितका लागि राहत रकम हस्तान्तरण गर्न बेलायतबाट नेपाल पुगेको तमु समाज युके आमा समूहकी संस्थापक अध्यक्ष एवं सल्लाहकार माया गुरुङको नेतृत्वको प्रतिनिधिमण्डलले गृह मन्त्रालय, सिंहदरबारमा बिहीबार आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङलाई तमु परम्पराअनुसार विशेष सम्मान गर्दै सफल कार्यकालको शुभकामना दिएको हो। संस्थाका तर्फबाट मायाले गृहमन्त्री गुरुङलाई खादा, फेटा, भाङ्ग्रा, गलबन्दी, माला तथा पुष्पगुच्छा अर्पण गरेकी थिइन्।

प्रतिनिधिमण्डलकी प्रमुख माया गुरुङले तमु समाज युके तथा व्यक्तिगत रूपमा गृहमन्त्री गुरुङप्रति सम्मान व्यक्त गर्दै उहाँको कार्यकाल सफल रहोस् र जनताको सेवामा गरिने प्रयासहरू सफल हुँदै जाऊन् भन्ने शुभकामना दिइन्।

कार्यक्रममा माया गुरुङको नेतृत्वमा चार सदस्यीय प्रतिनिधिमण्डल सहभागी थियो। प्रतिनिधिमण्डलमा तमु समाज युकेकी पूर्व प्रथम महिला विष्णुमति गुरुङ, समाजसेवी चन्द्रबहादुर गुरुङ र माया (डोल्मा) गुरुङ सहभागी थिए।

सो अवसरमा गृहमन्त्री गुरुङले बेलायतमा रहेर पनि नेपाल र नेपाली समुदायका लागि तमु समाज युकेले गर्दै आएको सामाजिक तथा मानवीय सेवाको प्रशंसा गर्दै प्रतिनिधिमण्डलप्रति धन्यवाद दिए। विपत्तिको समयमा मातृभूमिका प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने कार्यमा विदेशमा रहेका नेपाली समुदायको योगदान महत्त्वपूर्ण रहेको उनको भनाइ थियो।

भेटका क्रममा प्रतिनिधिमण्डलले नेपालमा पछिल्लो समय आएको बाढीपहिरो तथा भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको अवस्था, राहत तथा पुनर्स्थापनाका विषयमा पनि चासो राखेको थियो। तमु समाज युकेले विपत्तिका बेला नेपाल सरकार तथा प्रभावित नागरिकसँग ऐक्यबद्धता जनाउँदै आगामी दिनमा पनि सामाजिक तथा मानवीय सेवाका कार्यलाई निरन्तरता दिने जनाएको छ।

गृहमन्त्रीसँगको भेटघाट तथा सम्मान कार्यक्रमको समन्वय बरो अफ स्विन्डनका काउन्सिलर ज्ञान गुरुङले गरेका थिए। कार्यक्रममा नेपालका वरिष्ठ पत्रकार डण्ड गुरुङ पनि प्रतिनिधिमण्डलसँगै सहभागी थिए।

यसै अवसरमा तमु समाज युकेले भोटेकोशी बाढी तथा देशका विभिन्न स्थानमा आएको बाढीपहिरोबाट प्रभावितहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सङ्कलन गरेको रु. २५ लाख १ हजार १ सय प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जानकारी गराइएको थियो। उक्त रकमको प्रतीकात्मक चेक पनि गृहमन्त्री गुरुङलाई हस्तान्तरण गरिएको थियो।

तमु समाज युकेले स्थापनाकालदेखि नै बेलायतस्थित तमु तथा नेपाली समुदायबीच एकता, आपसी सद्भाव तथा सामाजिक सेवाका क्षेत्रमा काम गर्दै आएको जनाएको छ। संस्थाले प्राकृतिक विपद्का समयमा नेपालमा राहत तथा सहयोग पुर्‍याउँदै आएको र आगामी दिनमा पनि सामाजिक तथा मानवीय सेवाका कार्यलाई निरन्तरता दिने जनाएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!