लन्डन । नेपालले विनाशकारी बाढीको सामना गरिरहेका बेला शान्ति नेपाली समाज बेलायतले बाढीपीडितको राहत तथा उद्धारका लागि करिब ३९ लाख रुपैयाँ बराबरको सहयोग पठाएको छ।
समाजका अनुसार संस्थाको प्रत्यक्ष पहलमा सङ्कलन गरिएको १८ लाख ५४ हजार रुपैयाँ राहत रकम प्रधानमन्त्री बाढीपीडित राहत कोष तथा बाढी प्रभावितलाई हस्तान्तरण गरिएको छ। एक्सचेन्ज रेटमा हुने सामान्य उतारचढावका कारण रकममा केही फरक पर्न सक्ने समाजले जनाएको छ।
संस्थामार्फत सङ्कलित रकममध्ये २ लाख ५० हजार रुपैयाँ बाढी आएको १२ घण्टाभित्रै आईएमईमार्फत प्रधानमन्त्री राहत कोषमा पठाइएको थियो। त्यस्तै, करिब १ लाख १२ हजार रुपैयाँ स्थानीय बाढीपीडितलाई प्रत्यक्ष हस्तान्तरण गरिएको थियो भने १४ लाख ९२ हजार रुपैयाँ प्रधानमन्त्री राहत कोषमा सिधै ट्रान्सफर गरिएको समाजले जनाएको छ।
राहत सङ्कलन अभियानका क्रममा मसलन्द, च्यारिटी बक्स, ब्यानरलगायतका सामग्रीमा लागेको करिब २५० पाउन्ड (अन्दाजी ५२ हजार रुपैयाँ) खर्च भने संस्थाले आफ्नै तर्फबाट ब्यहोरेको थियो। उक्त खर्च सहयोग रकमबाट कट्टा नगरिएको समाजले स्पष्ट पारेको छ।
यसैगरी, समाजका सदस्यहरूले व्यक्तिगत रूपमा तथा आफ्ना व्यापार–व्यवसायमार्फत सञ्चालन गरेका विभिन्न च्यारिटी कार्यक्रमबाट सङ्कलित करिब २० लाख रुपैयाँ सम्बन्धित सदस्य तथा व्यवसायीहरूले सिधै प्रधानमन्त्री राहत कोषमा जम्मा गरिसकेको समाजले जनाएको छ।
यसरी संस्थामार्फत प्रत्यक्ष सङ्कलन तथा सदस्य र व्यवसायीको व्यक्तिगत पहलबाट गरी करिब ३९ लाख रुपैयाँ बाढीपीडितको राहतका लागि जुटाइएको समाजको भनाइ छ।
‘देशलाई मन र भावनाले जोड्नुपर्छ’ भन्ने भावनाका साथ राहत अभियानमा सहयोग गर्ने सम्पूर्ण सदस्य, शुभचिन्तक तथा सहयोगीहरूप्रति समाजले कृतज्ञता व्यक्त गरेको छ। थप सहयोग रकम प्राप्त भएमा उक्त रकम पनि प्रधानमन्त्री राहत कोषमै हस्तान्तरण गरिने समाजले जनाएको छ।
राहत सङ्कलन अभियानको संयोजन बाढीपीडित राहत कोष संयोजन समितिले गरेको थियो। समितिमा पूर्व अध्यक्ष तथा सल्लाहकार कोशलेश्वर ढकाल, अध्यक्ष तथा ट्रस्टी चेयर रामप्रसाद न्यौपाने र महासचिव तथा ट्रस्टी राजेशमणि लामिछाने रहेका छन्।






