ललितपुर । ब्रिटिस गोर्खा तथा उनीहरूका सन्ततिले वंशजका आधारमा प्राप्त गर्ने नेपाली नागरिकताको निरन्तरताबारे ठोस धारणा निर्माण गर्न विशेष कार्यशाला गोष्ठी आयोजना हुने भएको छ।
ब्रिटिस गोर्खा र तिनका सन्ततिहरूका लागि वंशजका आधारमा नेपाली नागरिकताको निरन्तरता विषयक कार्यशाला ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी) बेलायतको आयोजना तथा भूतपूर्व सैनिक कल्याणकारी समिति नेपालको सहसंयोजकत्वमा हुन लागेको हो । यहीआइतबार असोज ११ गते (२७ सेप्टेम्बर २०२६ )मा बिहान ८ देखि बेलुका ५ बजेसम्म ललितपुरको कुपण्डोलस्थित होटल हिमालयको सभाहलमा कार्यशाला आयोजना गरिने सीएनसीबीजी बेलायतका अध्यक्ष थर्क रानाले जानकारी दिएका छन् ।
कार्यशालामा ब्रिटिस गोर्खा तथा उनीहरूका वंशजको नेपाली नागरिकताको निरन्तरतासँग सम्बन्धित विषयमा विभिन्न राजनीतिक दलका नेता, बुद्धिजीवी, प्राध्यापक, कानुनी विज्ञ, सञ्चारकर्मी तथा गोर्खा समुदायका प्रतिनिधिबीच गहन विचारविमर्श हुने भएको छ।
विभिन्न क्षेत्रका सरोकारवालालाई एउटै मञ्चमा ल्याएर यस विषयमा साझा धारणा निर्माण गर्नुका साथै आगामी पहलका लागि आवश्यक रणनीति तय गर्ने उद्देश्यले कार्यशाला आयोजना गर्न लागिएको हो।
कार्यक्रममा निमन्त्रणा प्राप्त विभिन्न क्षेत्रका अतिथिहरूले आफ्ना व्यस्तता तथा अन्य कठिनाइका बाबजुद महत्वपूर्ण विषयमा छलफल गर्न सहभागी हुने इच्छा व्यक्त गरेको अध्यक्ष रानाले जनाए ।
सीएनसीबीजीले लामो समयदेखि उठाउँदै आएको ब्रिटिस गोर्खा तथा उनीहरूका सन्ततिको नेपाली नागरिकताको निरन्तरतासम्बन्धी विषयलाई कार्यशालामार्फत निष्कर्षमा पुर्याउने विश्वास लिएको अध्यक्ष रानाले बताएका छन्।






